काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमका पूर्व कप्तान बिनिता बुढाथोकी र चन्द्र बहादुर कुँवरलाई सञ्जय स्मृति प्रतिष्ठान तानसेनले नगदसहित सम्मानित गरेको छ ।
प्रतिष्ठानले बिहिबार बिनिता र चन्द्रलाई जनही ३० हजार र सम्मानपत्रले सम्मानित गरेको हो । भलिबल खेलको माध्यमबाट नेपालको नाम उच्चो बनाउन सफल भएको भन्दै दुवै खेलाडीलाई सम्मान गरेको हो ।
बिनिता एपीएफ क्लबकी कप्तान समेत हुन् । नेपाल पुलिस क्लबका चन्द्र अहिले टिमको प्रशिक्षकको रुपमा काम गर्दै आईरहेका छन् ।
बिनिताले सन् २००६ र २०१३ को सागमा नेपालको कप्तानी गरेकी थिइन् । जुन संकरणमा नेपालले कास्य जितेको थियो । यस्तै १३ औं सागमा बिनिताले बीच भलिबल टिमबाट कास्य जितेकी थिइन् ।
चन्द्रले सन् २०१३ देखि २०१६ सम्म राष्ट्रियबाट खेलेका थिए । चन्द्रले पछिल्लो पटक भारतमा भएको १२ औं साग खेलेका थिए ।
बिनिता र चन्द्रलाई प्रतिष्ठानका अध्यक्ष तथा नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के, राखेप सदस्य सचिव रमेश सिलवालले सम्मानित गरे ।
कार्यक्रममा बोल्दै बिनिताले यस्तो सम्मानले नयाँ खेलाडीलाई खेलमा लाग्न हौसला मिल्ने बताईन् ।
'यो सम्मानले नयाँ खेलाडीलाई हौसला मिल्नेछ । भलिबलको मेरो लामो यात्रामा पहिलो पटक सम्मानित भएको छु । सम्मानको लागि धेरै धेरै धन्यवाद,' बिनिताले भनिन् ।
यस्तै चन्द्रले सम्मानले भलिबल खेलमा लाग्न थप हौसला मिलेको बताए ।
'तपाईहरुको सम्मानले हामीलाई भलिबलमा लाग्न प्रेरणा मिल्छ । सम्मान गर्नु हुने प्रतिष्ठानलाई धेरै धन्यवाद,' उनले भने ।
प्रतिष्ठानले हरेक वर्ष दुई खेलाडीलाई सम्मान गर्दै आईरहेको छ । गत वर्ष पूर्व राष्ट्रिय टोलीका सदस्य मन्जु गुरुङ र सञ्जय अर्याल सम्मानित भएका थिए ।
कार्यक्रममा एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड विजेता खेलकुद पत्रकार प्रज्वल ओलीलाई समेत सम्मान गरिएको थियो ।
यस्तै बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको स्वर्ण विजेता नेपाली टोलीलाई समेत सम्मान गरिएको थियो ।