काठमाडौं । राष्ट्रिय भलिबल टिमका सदस्य कुलबहादुर थापा र सरस्वती चौधरीले मनोरन्जन रमण शर्मा अवार्ड प्राप्त गरेका छन् ।
नेपाल भलिबल संघका अध्यक्ष समेत रहेका मनोरन्जन रमण शर्माले स्थापना गरेको अवार्डमा पुरुषतर्फ कुलबहादुर र महिलातर्फ सरस्वतीलाई प्रदान गरिएको हो । अवार्डसँगै दुवैले समान ३५/३५ हजार नगद प्राप्त गरे ।
अवार्ड कार्यक्रममा अध्यक्ष शर्माले खेलाडीलाई नगद प्रदान गरेका थिए । चोटको कारण अस्पताल भर्ना भएको हुँदा सरस्वती भने कार्यक्रममा उपस्थित भईनन्।
भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएपछि शर्माले १० लाखको अक्षय कोष स्थापना गरेका थिए । त्यस अक्षय कोषबाट आएको ब्याज रकमलाई शर्माले अवार्डको नाममा एक पुरुष र एक महिला खेलाडीलाई प्रदान गर्दै आईरहेका छन् ।
दुवै खेलाडीले यस वर्ष संघले प्रदान गर्ने वर्ष खेलाडी अवार्ड समेत जितेका थिए ।
यस्तै शर्माले बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको विजेता नेपाली टोलीलाई जनही १०/१० हजार प्रदान गरेका छन् ।