बेनी । साविक विजेता एपीएफ क्लब चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पर्वतको बेनीमा बिहिबार भएको पहिलो सेमिफाइनलमा न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
एपीएफले न्यु डाईमण्डमाथि २५-९, २५-१५ र २५-१८ को सेटमा पराजित गर्यो । मुख्य स्पाइकर प्रतिभा माली बिनाको न्यु डाईमण्डले एपीएफविरुद्ध कडा टक्कर दिन सकेन । प्रतिभा चोटका कारण कोर्ट बाहिर रहेका छन् ।
अब एपीएफले फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ ।
यस अघि एपीएफ समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । न्यु डाईमण्ड समूह 'बी' को उपविजेता बनेको थियो ।
न्यु डाईमण्डले अब तेस्रो स्थानको लागि खेल्नेछ ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।