काठमाडौं । झापा र सोलुखुम्बु तेस्रो मदन स्मृति कप प्रदेश-१ स्तरीय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सोलुखुम्बु सदरमुकाममा बुधबार झापाले इलामलाई २५-१५, २५-२७ र २५-१७ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । जितसँगै समूह 'ए' को झापा समूह विजेत बनेर क्वाटरफाइनलमा पुगेको हो ।
क्वाटरफाइनलमा झापाले संखुवासभासँग खेल्नेछ । संखुवासभाले पांचथरलाई २५-१६ र २५-२३ ले पराजित गरेको थियो ।
यस्तै सोलुखुम्बुले उदयपुरलाई २५-२३ र २५-२३ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्यो । सोलुखुम्बुले अब खोटाङको सामना गर्नेछ । खोटाङले तेह्रथुमलाई २३-२५, २५-१४ र २५-१९ ले पराजित गर्यो ।
सुनसरीले संखुवासभालाई २२-२५, २५-१९ र १९-२५ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो । सुनसरीले अब धनकुटासँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै क्वाटरफाइनलमा ओखलढुंगा र भोजपुरबीच प्रतिस्पर्धा हुनेछ । भोजपुरले बुधबार उदयपुरलाई २५-२२ र २५-१७ को सोझो सेटमा पराजित गर्यो ।
फागुन १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।