बेनी । विभागीय टिम नेपाल पुलिस क्लबले चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
पर्वतको बेनीमा बुधबार भएको खेलमा न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले सुखद सुरुवात गरेको हो ।
पुलिसले न्यु डाईमण्डलाई २५-२२, २५-२१ र २५-१७ ले पराजित गर्यो ।
जितसँगै समूह 'बी' को पुलिसले ३ अंक जोडेको छ । र, पुलिस सेमिफाइनल नजिक पुगेको छ ।
न्यु डाईमण्डको भने यो पहिलो हार हो । बुधबार नै भएको पहिलो खेलमा न्यु डाईमण्डले आयोजक रेडियो दिदीबहिनीलाई ३-० को सेटमा हराएको थियो ।
साविकको उपविजेता समेत रहेको न्यु डाईमण्डले आयोजक टोलीलाई २५-२, २५-३ र २५-६ को सेटमा पराजित गरेको थियो ।
अब बिहिबार हुने पुलिस र आयोजक रेडियो दिदीबहिनीबीचको खेलले सेमिफाइनल पुग्ने टोलीको तय हुनेछ ।
समूह 'ए' बाट भने एपीएफ विजेता र आर्मी उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।