बेनी । साविक विजेता एपीएफ क्लब चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पर्वतको बेनीमा बुधबार भएको रोमान्चक खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफ सेमिफाइनलमा पुगेको हो ।
आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५-२१ ले गुमाएको थियो । तर, दोस्रो सेट २५-१७ ले जित्दै एपीएफ खेलमा फर्कियो । तेस्रो सेट पुन: आर्मीले २५-१९ ले आफ्नो बनायो ।
त्यसपछिका दुई सेट भने लगातार जित्दै एपीएफले रोमान्चक जित निकाल्यो । चौंथो सेटमा २५-९ को जित निकालेको एपीएफले अन्तिम सेट १५-९ ले आफ्नो बनायो ।
जितसँगै एपीएफ समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । एपीएफले ३ अंक जोड्यो ।
पराजित आर्मी पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यस समूहमा मात्र दुई टिम रहेको कारण एपीएफसँगै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो ।
अब एपीएफले समूह 'बी' को विजेता र आर्मीले उपविजेतासँग खेल्नेछ । समूह 'बी' मा न्यु डाईमण्ड स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब र आयोजक रेडियो दिदीबहिनी रहेका छन् ।
समूह 'बी' को पहिलो खेलमा न्यु डाईमण्डले आयोजकलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
साविकको उपविजेता समेत रहेको न्यु डाईमण्डले आयोजक टोलीलाई २५-२, २५-३ र २५-६ को सेटमा पराजित गरेको थियो ।
दोस्रो खेलमा भने न्यु डाईमण्ड विभागीय टिम नेपाल पुलिस क्लबसँग ३-० को सोझो सेटमा पराजित भयो ।
पुलिसले न्यु डाईमण्डलाई २५-२२, २५-२१ र २५-१७ ले पराजित गर्यो ।
जितसँगै समूह 'बी' को पुलिसले ३ अंक जोडेको छ । न्यु डाईमण्डको पनि ३ अंक रहेको छ । आयोजक रेडियो दिदीबहिनी अंक विहीन रहेको छ ।
अब बिहिबार हुने पुलिस र आयोजक रेडियो दिदीबहिनीबीचको खेलले सेमिफाइनल पुग्ने टोलीको तय हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।