काठमाडौं । इन्डोनेसियामा आयोजना हुने १८ औं संस्करणको एसियन गेम्समा सहभागिता जनाउने एथलेटिक्स खेलाडीको विदाई गरिएको छ ।
नेपाल एथलेटिक्स संघले मंगलबार एक कार्यक्रमकाबिच एसियन गेम्स खेल्ने ६ खेलाडीलाई विदाई गरेको हो । संघले नेपाली टोलीलाई मंगलबार विदाई गरेपनि नेपाली टोली एकसाता पछि मात्र इन्डोनेसिया जाने छन् ।
इन्डोनेसियन एसियन गेम्समा एथलेटिक्सतर्फ नेपालका चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । पुरुषतर्फ याम साजन सुनारले १०० मिटर दौड, गोपीचन्द्र पार्की र कृष्ण बहादुर बस्नेतले म्याराथन तथा सोम बहादुर कुमालले ४०० र ८०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ सरस्वती भट्टराईले ८०० र १५०० मिटर दौड र विश्वरुपा बुढाले ५ हजार र १० हजार मिटरको दौडमा प्रतिस्पर्धा गर्ने छिन् । नेपाली टोलीको प्रशिक्षकमा अमिरी यादव तथा व्यवस्थापकमा शान्ति सिंह रहेका छन् ।
यस्तै संघले विदाई कार्यक्रममा सबै खेलाडीलाई प्रोत्साहन स्वरूप जनही १०/१० हजार नगद तथा ट्रयाक सुट प्रदान गरेको छ ।
नेपाली टोलीलाई संघका अध्यक्ष राजिब बिक्रम शाह, उपाध्यक्ष तेजेन्द्र थापा लगायत संघका पदाधिकारीले विदाई गरेका थिए ।