काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर प्रतिभा मालीको उपचारका लागि भलिबलका रेफ्रीहरुले ४० हजार बढी आर्थिक रकम संकलन गरेको छ ।
घुँडाको चोटको उपचार गराईरहेकी प्रतिभालाई आर्थिक सहयोग गर्ने उदेश्यसहित रेफ्रीहरुले ४० हजार ३ सय ५ रुपैया संकलन गरेको हो । बुधबार सम्पन्न १५ औं संकरणको ढोरपाटन महिला लिग महिला भलिबल प्रतियोगिताको दौरान रेफ्रीहरुले आर्थिक सहयोग संकलन गरेको हो ।
'प्रतिभाको उपचार गर्न थोरै भएपनि सहयोग होस् भनेर आर्थिक रकम संकलन गरेका हौँ,' राष्ट्रिय रेफ्री समेत रहेकी शान्ति गुरुङले भनिन्, '२० गतेबाट सहयोग उठाउन सुरु गरेका हौँ ।'
प्रतिभाको लागि रेफ्री, अफिसियल र दर्शकहरुबाट सहयोग जुटाइएको गुरुङले बताईन् ।
प्रतिभाले माघ दोस्रो साता सकिएको पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपमा चोट बोकेकी थिइन् ।
न्यू डायमण्ड स्पोर्ट्स क्लबकी प्रतिभा एपीएफविरुद्धको फाइनल खेलको दौरान घाइते भएकी थिइन् । खेलको तेस्रो सेटको दौरान एपीएफविरुद्ध स्पाइक गर्ने क्रममा प्रतिभा लड्न पुगेकी थिइन् । जसको कारण उनको घुँडाको शल्यक्रिया गर्नु परेको थियो । उनको घुँडाको लिगामेन्ट च्यातिन पुगेको थियो ।
प्रतिभाको उपचारमा हालसम्म साढे ४ लाख रुपैयाँ खर्च भएको न्यू डायमण्ड स्पोर्ट्स क्लबले जनाएको छ । उनको उपचारमा क्लब, भलिबल संघ, हेल्प नेपाल सहित विभिन्न सुभेच्छुक व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् ।
प्रतिभा सोमबार अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । अस्पतालबाट डिस्चार्ज भएकी प्रतिभाले करिब तीन महिना पुरै बेड रेस्ट गर्नुपर्नेछ ।