काठमाठौं । साइपाल एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह अन्तर्गत गर्ल्स बास्केटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
सात टिम सहभागी नकआउट प्रतिस्पर्धामा साइपालले गोल्डेनगेटलाई ४९–२१ ले पराजित गर्यो । साइपालको जितमा प्रबिना गुरुङले १७ अंक योगदान गरिन् ।
बसुन्धरास्थित ऋत एकेडेमीमा भइरहेको खेलकुद सप्ताहको बास्केटबलकै ब्वाइजमा काष्ठमण्डप, आइन्सटाइन, जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेटले जित हात पारे ।
इशान खड्काको १८ अंक सहयोगमा काष्ठमण्डपले ह्वाइटफिल्डलाई ३१–१५ ले हरायो । आइन्सटाइनले प्रिमियरलाई ३९–१६ ले पाखा लगायो । आइन्सटाइनका निर्मल मगरले १२ स्कोर गरे । जेभियरले ग्लेसियरलाई ४९–२३ ले पाखा लगायो । जेभियरका सोनाम शेर्पाले ११ अंक जोडे ।
हेराल्डविरुद्धको खेलमा गोल्डेनगेट ३२–२२ ले विजयी भयो । गोल्डेनगेटका सन्जोक राउतले १० स्कोर गरे । ब्वाइजमा १९ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
खेलकुद सप्ताह अन्तर्गत ब्वाइज भलिबलमा दोहोरो जित निकाल्दै प्रिसियस क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रिसियसले रिभेरालाई २५–२३ र २५–१७ तथा ह्वाइटफिल्डलाई २५–१२ र २५–१७ को सोझो सेटमा पराजित गर्यो । अन्य खेलमा जया मल्टिपल कलेजले नवोदितलाई २५–२१, १७–२५ र २५–१३ तथा टाइम्सले हार्टल्यान्डलाई २५–१९ र २५–२० को सेटमा हराए । नकआउट आधारमा भइरहेको भलिबलको ब्वाइजमा १८ टिमले भाग लिएका छन् । गल्र्समा ५ टिम सहभागी छन् । भलिबल पनि ऋत एकेडेमीमै भइरहेको छ ।
प्रतियोगिताको केन्द्रीय हिसानका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । खेलकुद सप्ताहमा टेबलटेनिस, फुटसल र टग अफ वार पनि समावेश रहेको आयोजक हिसान काठमाडौंका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीले जनाएका छन् ।