काठमाडौं । विभागीय टिम नेपाल एपीएफ क्लबले १५ औं संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा बुधबार लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबमाथि ३-० को सेटमा जित निकाल्दै एपीएफले अपराजित रहदै उपाधि जितेको हो ।
लगातार दोस्रो वर्ष च्याम्पियन बन्ने क्रममा एपीएफले पुलिसमाथि २५-२१, २५-२१ र २५-१९ को सेटमा जित निकाल्यो ।
जितसँगै डबल राउण्ड रोबिनको आधारमा भएको लिगमा एपीएफले १४ खेलमा ४१ अंक जोड्यो । उपविजेता बनेको पुलिसले १४ खेलमा ३७ अंक जोड्यो ।
उपाधिसँगै एपीएफले ४ लाख ५ हजार रुपैयाँ प्राप्त गरेको छ । पुलिसले भने २ लाख ५ हजार प्राप्त गर्यो ।
लिगमा आर्मी तेस्रो र न्यु डाईमण्ड स्पोर्ट्स क्लब चौंथो स्थानमा रह्यो । तेस्रो भएको आर्मीले १ लाख ५ हजार र न्यु डाईमण्डले ७५ हजार प्राप्त गरेको छ ।
बुधबार नै भएको खेलमा आर्मीले न्यु डाईमण्डलाई २५-२१, २५-१४ र २५-१४ को सेटमा पराजित गरेको थियो ।
लिगमा पाचौं भएको चितवन टाईग्रेसले ५५ हजार र छैटौं भएको बुलबुल राराले ४५ हजार प्राप्त गरेको छ ।
ढोरपाटन स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको लिगपछि शीर्ष ७ टिम दोस्रो चरणमा पुगेका थिए ।