काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर प्रतिभा मालीको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद (राखेप) ले व्यहोर्ने भएको छ ।
राखेपका सदस्य सचिब रमेश सिलवालले घुँडाको चोट बोकेकी प्रतिभाको उपचार खर्च राखेपले व्यहोर्ने जानकारी दिएका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको मैदानमा जारी ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको दौरान सदस्य सचिब सिलवालले प्रतिभाको उपचार खर्च राखेपले व्यहोर्ने घोषणा गरेका हुन् ।
'हाम्रो राष्ट्रिय महिला भलिबल टिमकी खेलाडी प्रतिभाको उपचार खर्च राष्ट्रिय खेलकुद परिषदले व्यहोर्ने जानकारी गराउछु,' सदस्य सचिब सिलवालले भने ।
प्रतिभाले माघ दोस्रो साता सकिएको पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपमा चोट बोकेकी थिइन् ।
न्यू डायमण्ड स्पोर्ट्स क्लबकी प्रतिभा एपीएफविरुद्धको फाइनल खेलको दौरान घाइते भएकी थिइन् । खेलको तेस्रो सेटको दौरान एपीएफविरुद्ध स्पाइक गर्ने क्रममा प्रतिभा लड्न पुगेकी थिइन् । जसको कारण उनको घुँडाको शल्यक्रिया गर्नु परेको थियो । उनको घुँडाको लिगामेन्ट च्यातिन पुगेको थियो ।
प्रतिभाको उपचारमा हालसम्म साढे ४ लाख रुपैयाँ खर्च भएको न्यू डायमण्ड स्पोर्ट्स क्लबले जनाएको छ । उनको उपचारमा क्लब, भलिबल संघ, हेल्प नेपाल सहित विभिन्न सुभेच्छुक व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् ।
प्रतिभा सोमबार अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । अस्पतालबाट डिस्चार्ज भएकी प्रतिभाले करिब तीन महिना पुरै बेड रेस्ट गर्नुपर्नेछ ।