काठमाडौं । साविक विजेता तथा विभागीय टोली नेपाल एपीएफ क्लबले राजधानीमा जारी १५ औं संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा शतप्रतिशत जितलाई कायम राखेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा मंगलबार विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो ।
एपीएफले आर्मीमाथि २५-१९,२५-१९ र २५-२१ को सेटमा जित निकाल्यो । आर्मीमाथिको जितसँगै शीर्ष स्थानको एपीएफले १३ खेलबाट ३८ अंक जोडेको छ । आर्मी १३ खेलमा २७ अंक जोडेर तेश्रो स्थानमा रहेको छ ।
आर्मीले पहिलो खेलमा बुलबुले रारा क्लबलाई २५-१०,२५-१६ र २५-७ ले हराएको थियो । बुलबुले १४ खेलमा १४ अंक जोडेको छ । बुलबुले प्रतियोगिताबाट समेत बाहिरिएको छ ।
यस्तै अर्को विभागीय टिम नेपाल पुलिस क्लबले न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई २५-२२,२५-१९ र २५-८ को सेटमा हराएको छ ।
न्यु डाईमण्डलाई हराएसँगै पुलिसले १२ खेलमा ३७ अंक जोडेको छ । पुलिस दोस्रो स्थानमा रहेको छ । २२ अंक जोडेको न्यु डाईमण्ड चौंथो स्थानमा रहेको छ ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौ हुनेलाई ७५ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले यु एम स्कुटर पाउनेछन् । उत्कृष्ट खेलाडी ,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिनेछ ।
विधागततर्फ उत्कृष्ट हुनेले जनही ७/७ हजार पाउने छन् ।