काठमाडौं । खेल्ने क्रममा चोट बोकेकी राष्ट्रिय भलिबल टिमकी खेलाडी प्रतिभा माली अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
करिब १७ दिन अस्पतालमा भर्ना भएर उपचार गराएकी प्रतिभा सफल शल्यक्रियापछि डिस्चार्ज भएकी हुन् ।
एभीसी क्लब च्याम्पियनसिप खेल्ने क्रममा फाईनल खेलमा उनले चोट बोकेकी थिईन् । स्पाईक गर्ने क्रममा उनी लड्न पुगेकी थिईन् ।
उनको घुँडाको लिगामेन्ट च्यातिन पुगेको थियो । केही दिनको उपचारपछि उनको घुँडाको सल्यक्रियानै गरिएको हो ।
अस्पतालबाट डिस्चार्ज भएकी प्रतिभाले करिब तीन महिना पुरै बेड रेस्ट गर्नुपर्नेछ ।
'उनले तीन महिना खुट्टामा जोड दिन मिल्दैन । पुरै बेड रेस्टनै गर्नुपर्छ ।' न्युडायमण्ड एकेडेमीकी अध्यक्ष समेत रहेकी सुनकेशरी मालीले खेलपाटीसग भनिन्, 'त्यसपछि उनले सामान्य रुपमा खुट्टा टेक्न सक्नेछिन् । र सामान्य अभ्यासमा फर्कनेछिन् ।'
डिस्चार्ज भएपनि प्रतिभाको खुट्टाको थेरापी नियमित रुपमा गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
राष्ट्रिय भलिबल टिमकी मुख्य स्पाईकर प्रतिभा अलराउण्डर खेलाडी हुन् । उनकै प्रेरणादायी प्रर्दशनमा विद्यालयस्तरीय टिम न्यु डायमण्डले घरेलु प्रतियोगितामा प्रभाव जमाउँदै आएको छ ।
उनले लामो समयका लागि चोट बोक्दा क्लबसंग राष्ट्रिय महिला भलिबल टिमले ठुलो क्षती ब्यहोर्नुपर्नेछ ।
लिगामेन्ट च्यातिएसंगै उनी करिब एक बर्ष मैदान बाहिर रहन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उपचारमा साढे ४ लाख खर्च
करिब साढे २ हप्ता अस्पतालमा भर्ना भएकी प्रतिभाको उपचारमा साढे ४ लाख रुपैयाँ खर्च भएको छ । सल्यक्रिया सहित प्रतिभाको उपचारमा सो रकम खर्च भएको न्यु डायमण्ड एकेडेमीले जनाएको छ ।
क्लब, भलिबल संघ, हेल्प नेपाल सहित विभिन्न सुभेच्छुक व्यक्ति तथा संस्थाले प्रतिभाको उपचारमा सहयोग गरेका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले समेत प्रतिभाको उपचारमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।