काठमाडौं । महामञ्जुश्री, एचएचसीए र सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) ले चौथो भानुभक्त मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।
महामञ्जुश्री सिनियर ब्वाइज, एचएचसीए सिनियर गल्र्स र सेब जुनियर ब्वाइजमा च्याम्पियन बने ।
पानीपोखरीस्थित आयोजक भानुभक्त मेमोरियल स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा महामञ्जुश्रीले सेबलाई ५४–४६ ले पराजित गर्यो । महामञ्जुश्रीको जितमा सुजन मोक्तानले १४ अंक योगदान गरे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा अनिता सुनुवराको १७ अंक सहयोगमा एचएचसीएले सिद्धार्थ बनस्थलीलाई ३३–२० ले हरायो । जुनियर ब्वाइजको फाइनलमा सेबले ग्रिनफिल्डको चुनौती २८–१७ ले समाप्त पार्यो । सेबका कृपाल महर्जनले १३ स्कोर गरे ।
सिनियर ब्वाइजमा महामञ्जुश्रीका सुजन मोक्तान, सिनियर गल्र्समा एचएचसीएकी अनिता सुनुवार र जुनियर ब्वाइजमा सेबका कृपाल महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । सिनियर ब्वाइजमा न्यु बुद्ध प्रकाश, सिनियर गल्र्समा बाल श्रृजनालय र जुनियर ब्वाइजमा मंगलदीपले अनुशासित टिमको उपाधि हात पारे ।
नेटबल प्रतियोगितामा आयोजक भानुभक्त च्याम्पियन बन्यो । फाइनलमा भानुभक्तले मंगलदीपलाई २६–२१ ले पराजित गर्यो । भानुभक्तकी आकृति रजकले १८ अंक जोडिन् ।
भानुभक्तकी प्रनिता लामा उत्कृष्ट खेलाडी तथा मंगलदीपकी टासी शेर्पा उत्कृष्ट डिफेन्डर घोषित भए । प्रतियोगिताभर ८६ स्कोर गरेकी भानुभक्तकी आकृति रजक सर्वाधिक स्कोरकर्ता बनिन् ।
विजेतालाई आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश पाण्डे, प्रिन्सिपल बमबहादुर मोक्तानलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बास्केटबलको तीनै विधामा समान १२–१२ टिम सहभागी थिए । नेटबलमा ४ टिमले प्रतिस्पर्धा गरेका थिए ।