काठमाडौं । साविक विजेता तथा विभागीय टोली नेपाल एपीएफ क्लबले १५ औं संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा शनिबार दोस्रो चरणको पहिलो खेलमा चितवन टाइग्रेसमाथि २५–११, २५–११ र २५–१८ को सोझो सेटमा पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो ।
जितसँगै एपीएफले १० खेलबाट २९ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा यथावत रहेको छ ।
यस्तै नेपाल पुलिस क्लबले अर्मो विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो र दोस्रो सेट २५–२० र २५–१७ ले आफ्नो पक्षमा पारेको पुलिसले तेस्रो सेट १७–२५ ले गुमाएको थियो । तर, चौथो सेटमा पुलिस २५–१३ ले विजयी हुन सफल भयो । जितसँगै पुलिसको १० खेलबाट २८ अंक पुगेको छ । पराजित आर्मी २१ अंकसहित तेस्रो स्थानमा छ ।
एपीएफसँग पराजित भएको चितवनले बुलबुले रारा भलिबल क्लबमाथि २५–२०, २५–१२ र २५–१४ को सोझो सेटमा पराजित गरेको छ । यससँगै चितवनले ११ खेलबाट १६ अंक पुगेको छ । बुलबुले १३ अंक जोडेर छैटौ स्थानमा झरेको छ ।
शनिबारै पहिलो राउन्डको अन्तिम खेलमा बुलबुले न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । डायमन्डले बुलबुलेमाथि २५–२१, २५–२२ र २५–१२ को सहज जित निकाल्यो । यसँगै डायमन्डले पहिलो राउन्डमा ९ खलेबाट १८ अंक जोड्यो । दोस्रो राउन्डमा आइतबार चार खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौ हुनेलाई ७५ हजार, पाचौँ हुनेलाई ५५ हजार,छैठौं हुनेलाई ४५ हजार र सातौं हुने टिमलाई ३५ हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले यु एम स्कुटर पाउनेछन् । उत्कृष्ट खेलाडी ,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिनेछ ।
विधागततर्फ उत्कृष्ट हुनेले जनही ७/७ हजार पाउने छन् ।