काठमाडौं । न्यु डाईमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी १५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा जित निकालेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा बिहिबार न्यु डाईमण्डले चितवन टाइग्रेसलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
तीन इरानी खेलाडीसहित कोर्ट उत्रिएको चितवनमाथि न्यु डाईमण्डले २५-१५, २५-१७ र २५-१९ को सेटमा जित निकाल्यो । जितसँगै न्यु डाईमण्डले ७ खेलमा १५ अंक जोडेको छ । न्यु डाईमण्ड लिगको चौंथो स्थानमा रहेको छ ।
यस्तै पुलिसले चितवनलाई नै ३-० को सेटमा पराजित गर्यो । विभागीय टिम पुलिसले चितवनमाथि २५-१५,२५-१४ र २५-१४ को सेटमा पराजित गर्यो ।
जितसँगै पुलिसले ८ खेलमा २२ अंक जोडेको छ । पुलिस लिगको दोस्रो स्थानमा रहेको छ । छैटौं स्थानको चितवनले ७ खेलमा १० अंक जोडेको छ ।
अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबलाई ३-० को सेटमा हराएको छ । आर्मीले चुलीलाई २५-१३, २५-१२ र २५-१० को सेटमा पराजित गर्यो ।
जितसँगै तेस्रो स्थानको आर्मीले ८ खेलमा १८ अंक जोडेको छ ।
बिहिबार पहिलो खेलमा आर्मीसँग पराजित चुलीले दोस्रो खेलमा सेब स्कुललाई हराएको छ । चुलीले सेबलाई २५-७, २०-२५, २५-११, १७-२५ र २५-६ को सेटमा हरायो ।
जितसँगै चुलीले ३ अंक जोडेको छ । अन्तिम खेलको जितसँगै चुली प्रतियोगिताबाट समेत बाहिरिएको छ । यस्तै सेब अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छन् ।
बुलबुले रारा क्लबले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सेटमा हराएको छ । बुलबुलेले ढोरपाटनमाथि २५-१७,२५-९ र २६-२६ ले हराएको छ । जितसँगै पाँचौं स्थानको बुलबुलेले ७ खेलमा १४ अंक जोडेको छ । ढोरपाटनको ८ खेलमा ९ अंक रहेको छ ।
त्यस्तै पारामाउन्ट स्कुल पनि प्रतियोगिताबाट बाहिरिएको छ । पारामाउन्टले ६ अंक जोड्यो ।
तीन टिम चुली, सेब स्कुल र पारामाउन्ट बाहिरिएसँगै प्रतियोगिताको दोस्रो चरणमा पुग्ने ७ टोलीको टुंगो लागेको छ ।
१० टिम रहेको प्रतियोगिताको पहिलो चरणको लिगपछि शीर्ष ७ टिमले मात्र दोस्रो चरणमा स्थान बनाउने नियम रहेको छ । दोस्रो चरणको लिगपछि शीर्ष टिमले उपाधि जित्नेछ ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौ हुनेलाई ७५ हजार, पाचौँ हुनेलाई ५५ हजार,छैठौं हुनेलाई ४५ हजार र सातौं हुने टिमलाई ३५ हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले यु एम स्कुटर पाउनेछन् । उत्कृष्ट खेलाडी ,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिनेछ ।
विधागततर्फ उत्कृष्ट हुनेले जनही ७/७ हजार पाउने छन् ।