काठमाडौं । ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १५ औं संकरण राजधानीमा जारी छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा जारी प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको उपाधिका लागि दश वटै टिमले दाबी गरिरहेका छन् । र, उपाधि जित्न तीन टिमले विदेशी खेलाडी समेत अनुबन्ध गरेको छ ।
आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले यस संस्करणमा तीन विदेशी खेलाडी राख्न पाइने प्रावधान राखेको थियो । जसको कारण तीन टिमले भारत र इरानका खेलाडी अनुबन्ध गरेका छन् ।
यस संकरणमा बुलबुले रारा क्लबले ३ भारतीय खेलाडी भित्र्याएको छ । भारतका जुनियर टिमका खेलाडी रहेका उकंसा, नभदीप र पुनमलाई बुलबुलेले अनुबन्ध गरेको हो । बुलबुलेले जनही ५० हजार भारतीय रुपैया दिनेगरि उनीहरुलाई अनुबन्ध गरेको हो ।
चितवन टाईग्रेसले ३ इरानी खेलाडी अनुबन्ध गरेको छ । जसमा सुपर लिग खेलेका खेलाडी नेगर, फतेमा र मैदेह रहेका छन् । उनीहरुलाई जनही २ लाखमा अनुबन्ध गरेको चितवनले जनाएको छ ।
यस्तै आयोजक ढोरपाटनले पनि ३ भारतीय खेलाडी भित्र्याएको छ । क्षेत्रीय टिमका खेलाडी कोमल सिंह, जे.पी कौर र सिल्पा सिंहलाई आयोजकले अनुबन्ध गरेको हो । ढोरपाटनले तीन खेलाडीलाई जनही १ लाख भारतीय रुपैयामा अनुबन्ध गरेको जनाएको छ ।
तर, ढोरपाटनका भारतीय खेलाडी भने भारत फर्किसकेका छन् । मंगलबार साबिकको विजेता एपीएफसँग पराजित भएपछि उनीहरुलाई भारत पठाईएको ढोरपाटनका एक पदाधिकारीले जानकारी गराए ।
लिगमा विदेशी खेलाडी अनुबन्ध गरेपनि टिमले उत्कृष्ट प्रदर्शन भने गर्न सकिरहेको छ ।
बुलबुले ६ खेलबाट ११ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । ५ खेलबाट १० अंक जोडेको चितवन छैटौ स्थानमा रहेको छ । यस्तै ७ खेलबाट ९ अंक जोडेको ढोरपाटन सातौ स्थानमा छ ।
लिगमा अपराजित एपीएफ शीर्ष स्थानमा रहदा पुलिस दोस्रो र आर्मी तेस्रो स्थानमा रहेको छ । न्यु डाईमण्ड चौंथो स्थानमा रहेको छ । शीर्ष चारमा रहेका टिमसँग भने विदेशी खेलाडी छैनन् ।
प्रतियोगिताको पहिलो चरणको लिगपछि शीर्ष ७ टिम दोस्रो चरणमा पुग्नेछ । दोस्रो चरणको लिगपछि शीर्ष टिमले उपाधि जित्नेछ ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौ हुनेलाई ७५ हजार, पाचौँ हुनेलाई ५५ हजार,छैठौं हुनेलाई ४५ हजार र सातौं हुने टिमलाई ३५ हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले यु एम स्कुटर पाउनेछन् । उत्कृष्ट खेलाडी ,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिनेछ ।
विधागततर्फ उत्कृष्ट हुनेले जनही ७/७ हजार पाउने छन् ।