काठमाडौं । साबिकको विजेता एपीएफले १५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा अपराजित यात्रा कायम राखेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा मंगलबार दोहोरो जित निकाल्दै एपीएफले जितको यात्रा कायम राखेको हो ।
पहिलो खेलमा पारामाउन्ट स्कुललाई ३-० को सोझो सेटमा हराएको एपीएफले दोस्रो खेलमा आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई पनि ३-० को सोझो सेटमा पराजित गर्यो ।
पहिलो खेलमा एपीएफले पारामाउन्टलाई २५-५, २५-१८ र २५-६ को सेटमा पराजित गर्यो । यस्तै दोस्रो खेलमा एपीएफले ढोरपाटनलाई २५-६, २५-५ र २५-८ को सेटमा पराजित गर्यो ।
जितसँगै शीर्ष स्थानको एपीएफले ७ खेलमा २० अंक जोडेको छ ।
यस्तै नेपाल पुलिस क्लबले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको छ । पुलिसले आर्मीमाथि २५-२२, २५-२१, २०-२५ र २५-२२ को सेटमा जित निकाल्यो ।
जितसँगै पुलिसले ६ खेलमा १६ अंक जोडेको छ । आर्मीको ५ खेलमा ९ अंक रहेको छ ।
यस्तै चितवन टाइग्रेसले चुली युवा क्लबलाई २५-९, २५-११ र २५-११ को सेटमा पराजित गर्यो ।
न्यु डाईमण्ड स्पोर्ट्स क्लब र बुलबुले रारा क्लबबीचको खेल भने खराब प्रकाशको कारण २५ गतेसम्मको लागि स्थगित भएको छ ।
ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको पहिलो चरणको लिगपछि शीर्ष ७ टिम दोस्रो चरणमा पुग्नेछ । दोस्रो चरणको लिगपछि शीर्ष टिमले उपाधि जित्नेछ ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौ हुनेलाई ७५ हजार, पाचौँ हुनेलाई ५५ हजार,छैठौं हुनेलाई ४५ हजार र सातौं हुने टिमलाई ३५ हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले यु एम स्कुटर पाउनेछन् । उत्कृष्ट खेलाडी ,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिनेछ ।