पोखरा । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ केन्द्रीय समितिको आयोजनामा पर्यटकीय नगर पोखरामा अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ ।
संघको आयोजनामा आगामी माघ ११ र १२ गते सेमिनार हुने भएको हो ।
दुई दिनसम्म संचालन हुने सो सेमिनारमा अमेरिका, अष्ट्रेलिया, रसिया, दक्षिण कोरिया, नेपाल लगायत विभिन्न राष्ट्रका प्रमुख ग्राण्ड माष्टर, मास्टर, अफिसियल तथा प्रशिक्षकहरुले नेपाली हाप्किडो खेलाडीहरुलाई विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
पोखराको रंगशालाको कभर्डहलमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्वा गुरुङका प्रमुख आतिथ्यमा हुने पहिलो अन्तर्राष्ट्रिय सेमिनारमा २० देखि २५ देशका ग्राण्ड मास्टर, मास्टर, प्रशिक्षक तथा खेलाडीहरु लगायत विभिन्न क्षेत्रका ६ सय जनाको सहभागीतामा हुनेछ ।
नेपालको तर्फबाट संघका केन्द्रिय अध्यक्ष एवं प्रशिक्षक कालिबहादुर घर्तिमगर र आठौं सागका स्वर्णधारी प्रकाश थापा मगरले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
पहिलो अन्तराष्ट्रिय हाप्किडो सेमिनारलाई मध्यनजर राखि शनिबार र आइतबार पोखरामा ३५ जिल्लाका ६० जना प्रशिक्षकहरुको सहभागीतामा दोस्रो हाप्किडो रेफ्री सेमिनार पनि सम्पन्न भएको छ । सो सेमिनारमा भक्तपुर मार्सल आर्ट्स हाप्किडो संघबाट ६ जना प्रशिक्षक तथा खेलाडीको सहभागीता रहेको थियो ।