काठमाडौं । वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा बिहिबार पुरुष ५५ केजीमा रेजका मदनकृष्ण डंगोल र मकवानपुरका सागर राई क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ललितपुरको चापागाउँस्थित प्याङगाउँमा मुवाँथाईका दावा फुन्जो शेर्पा, सो क्योकुसिनका मनीष दर्लामी, उसुका जीवन विष्ट, नेपाल प्रहरीका दीपेन्द्र सिन्जाली मगर, नेपाल आर्मीका तारा तामाङ र एपीएफका फुर्वा शेर्पा पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
महिला ५० केजीमा आर्मीकी रुविका खड्का, आईकेकेएफकी करिष्मा कार्की, सो क्योकुसिनकी दीपा शाही, एपीएफकी सन्जुमाया थिङ, मुवाँथाईकी डेनिका राई, आर्मीकी शान्ति थापा मगर र अञ्जना ढुंगेल क्वाटरफाइनलमा पुगे ।
तीन दिने प्रतियोगितामा १ सय २२ खेलाडीले ११ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । पुरुषमा ६ र महिलामा ५ स्पर्धा समावेश छन् ।
प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ८–८ हजार नगद पुरस्कार पाउने छन् । टिममा पहिलो हुनेलाई १ लाख र दोश्रो हुनेलाई ५० हजार नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट पुरुष÷महिला खेलाडीले जनही २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
उद्घाटनका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जितेका आयशा शाक्य र मन्डेकाजी श्रेष्ठ, स्वर्ण विजेता विप्लवलाल श्रेष्ठ, रजत विजेता दिवस श्रेष्ठ, कांस्य विजेता विनोद शाक्य गुभाजु, मुकुन्द्र महर्जन र निकेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।
आयशा तेक्वान्दो र निकेश उसुका हुन् भने बाँकी सबै करातेका हुन् । सोही अवसरमा सागमा प्रशिक्षकको भुमिका निभाएका करातेकाद्वय गंगाराम महर्जन र दीपक श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा सुरु प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक कार्यक्रमबीच उद्घाटन गरे ।