काठमाडौं । साविकको विजेता मनाङ मर्स्याङ्दी क्लबकी एक समर्थकले गरेको ब्यवहारप्रति ब्रिगेड ब्वाईज क्लबले असन्तुष्टि जनाएको छ ।
बिहिबार एन्फा कम्प्लेक्समा सहिद स्मारक ए डिभिजन लिगमा आफ्ना खेलाडीप्रति विपक्षी टिमका समर्थकले गरेका आपत्तिजनक शब्दलाई लिएर ब्रिगेडले आपत्ति जनाएको हो ।
लिगको तेस्रो खेलमा मनाङले ब्रिगेडलाई १–० गोल अन्तरले पराजित गरेको थियो । खेलको ७४ मिनेटमा मनाङका एक राज बुढाथोकीले खराव ट्याकल गरेपछि ब्रिगेडका विजय गुरुङ मैदान ढल्न पुगेका थिए । सोही समय मनाङकी एक समर्थकले विजय लडेपछि विजय ‘मरोस् मरोस्’ भन्दै नारा लगाएकी थिईन् ।
सो बिषयलाई लिएर खेल मैदानमा केहि समय तनाव सिर्जना भएको थियो । प्यारापिटमा ‘दिपा खड्का’ नामकी महिला समर्थकले विजय घाईत भएपछि अराजक ब्यवहार देखाएकी थिईन् ।
त्यसपछि ब्रिगेडको प्लेयर बक्स केहि समय तनाबपुर्ण बन्यो ।
मनाङको समर्थकले आफ्नो प्लेयर बक्स माथिबाट आपत्तिजनक शब्द प्रयोग गरेपछि ब्रिगेडका खेलाडी र अफिसियलले आपत्ती जनाएका थिए । उत्पन्न तनाबको स्थितीलाई साम्य पार्न लिग निर्देशक सञ्जिंब मिश्र आफै प्लेयर बक्समा पुगेका थिए ।
मनाङका डिफेन्डर एकराजको खराब ट्याकलसँगै विजय बिहोस भएर मैदानमा ढलेका थिए ।
उनको केहि समयपछि होस खुलेको थियो । लामो दुरीबाट हेडिङका लागि खुट्टा फैलाउँदै आएका एकराजले विजयको कानमा प्रहार गरेका थिए ।
लगत्तै रेफ्रि कबिन ब्यञ्जनकारले एकराजलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।
घाईते विजय भने बिहिबारनै ठिक भएका छन् ।
उनलाई ६ टाका लगाईएको छ ।
हस्पिटलबाट डिस्चार्ज भएपछि पुर्व क्लबका समर्थकले देखाएको ब्यवहारप्रति विजय स्वयमले आपत्ति जनाए । उनले आफुलाई मरोस् भन्ने समर्थकलाई कारबाहि गर्न एन्फालाई अपिल गरे ।
‘अहिले स्वास्थ ठिक छ । मैदानमा के भयो । मैले त केहि थाहा पाईन । मनाङका समर्थकले मरोस् मरोस् भनेको रैछ । एकदमै नरमाईलो लाग्यो । यस्तो समर्थकलाई एन्फाले कारबाहि गर्नुपर्छ ।’
ब्रिगेडले सार्वजनीक गरेको भिडियो सन्देशमा विजयले भनेका छन् ।
उनले अपशब्द नबोल्न आग्रह गर्दै बोलिएका शब्द सधै मनमा रहिरहने बताए ।
‘त्यस्ता शब्द नबोलिदिन आग्रह गर्छु । जुन घाउ छ, त्यो एक दुई दिनमा ठिक हुन्छ । तर जुन प्रकारको बोली आएको छ, त्यो मनमा परिरहेको हुन्छ ।’ विजय भन्छन् ।
ब्रिगेडविरुद्ध आपत्तिजनक शब्द बोल्ने खड्काले अन्य खेलमा समेत त्यस्ता हर्कत देखाउँदै आएकी छन् ।
उनी मनाङ क्लबको समर्थक सदस्य समेत हुन् ।
उनी विपक्षी टिमविरुद्ध सिधा खुलेरै अपशब्द बोल्दै गाली गरिरहेको प्रत्येक खेलमा देख्न सकिन्छ । जसले बिहिबार ठुलै रुप लियो ।
घटनाको विषयमा मनाङ कार्यसमितिले उनलाई कारबाहि गर्ने बताएको छ ।
दिपा खड्का नामकी महिलालाई मनाङ कार्यसमितिले विजय गुरुङसँग क्षमा याचना गराउने भएको छ ।
मनाङका महासचिव अनिल गुरुङ भन्छन्, ‘उ एक समर्थक हो । खेल हेर्न आउनुहुन्छ । हामीले आफ्नै समर्थक भएका कारण विजयसँग माफी माग्न लगाउने भएका छौं ।’ उनले भने ।
ब्रिगेडका ब्यवस्थापक अर्विन गुरुङले मनाङका लागि मात्रै नभएर लिगका सबै क्लबका समर्थकले सिक्नुपर्ने बताउँछन् ।
‘यो मनाङको लागि मात्रै हैन । सबै क्लबको समर्थकको लागि हो । यो फुटबलको लागि राम्रो काम हैन ।’ उनी भन्छन् ।
उनले ९० मिनेट मैदानमा खेलेर रगत गुमाउने खेलाडीमाथि भएको ब्यवहार समग्र नेपाली फुटबलमा दर्शक बीचनै झगडा गराउने बाताबरण उत्पन्न हुने बताउँछन् ।
‘खेलाडी ९० मिनेट खेलेर रगतनै गुमाउन पुग्छ । त्यस्ता खेलाडीलाई गरिएको ब्यवहार भएन । जुन स्थितीले समर्थक समर्थक बीच झगडाको बाटो तय गर्छ । यस्ता समर्थकले फुटबललाई खत्तम पार्छन् ।’
यो पनि : बिग्रेडमा विजय !