काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मण्डल पुनर्गठनमा खेलकुदमन्त्री जगत विश्वकर्मालाई तत्काल नहटाउने भएका छन् ।
आसन्न १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को संघारमा खेलकुदमन्त्री परिवर्तन हुँदा राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्रीले खेलकुद मन्त्रीलाई तत्काल परिवर्तन नगर्ने भएका हुन् ।
कार्यसम्पादनमा कमजोर र सरकारको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै खेलकुद मन्त्री विश्वकर्मालाई हटाउने प्रधानमन्त्रीको तयारी थियो ।
साग आयोजनमा मन्त्रालयको भूमिका सन्तोषजनक नरहेको बालुवाटारको बुझाई थियो ।
सोही कारण खेलकुद मन्त्री बाहिरिने पहिलो सूचिमा रहेको भन्दै सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेका थिए ।
६ मन्त्री बाहिरिने
प्रधानमन्त्री ओलीले वर्तमान सरकारबाट ६ मन्त्री फेरबदल गर्ने भएका छन् ।
उनले तत्कालिन माओवादी केन्द्रबाट सरकारमा गएका उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादव, कृषी मन्त्री चक्रपाणी खनाल, कृषी राज्यमन्त्री रामकुमारी चौधरीलाई पहिलो चरणमा हटाउने छन् ।
यस्तै, तत्कालिन एमालेबाट मन्त्री बनेको श्रम मन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र महिला बालबालिका मन्त्री थममाया थापालाई हटाउने तयारी गरेका छन् ।
नयाँ मन्त्रीको बारेमा सचिवालय बैठकबाट निर्णय गर्ने प्रधानमन्त्रीको तयारी छ । नयाँ मन्त्रीले आजै अपरान्ह साढे ४ बजे शपथ खुवाउने कार्यक्रम समेत तय गरिएको छ ।