काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमबाट निकालिएका चार खेलाडीमाथि थप अनुसन्धान गर्ने भएको छ ।
विश्वकप छनोट खेल्न भुटान जाने अघिल्लो रात खेलाडी नाईट क्लबमा भेटिएको बिषयमा एन्फाले थप अनुसन्धान अघि बढाउने भएको हो ।
खेलाडीको गतिविधि शंकास्पद देखिएको भन्दै एन्फाले खेलाडीमाथि अनुसन्धान प्रक्रियालाई अगाडी बढाउने निष्कर्शमा पुगेको हो ।
‘रक्सी खाएको मात्र कुरा हैन । मुख्य खेलाडी कसरी राति गयो भन्ने पनि बिषय हो ।’ एन्फा प्रवक्ता किरण राईले खेलपाटीसंग भने, ‘खेलाडी थाहा नपाएर वा उद्वेश्य सहित भन्ने जोडियो । उनीहरुले खेल्दा÷नखेल्दा टिमलाई घाटा पर्ने भएकाले भित्री रुपमा अनुसन्धान अगाडी बढाउनेछौ ।’
विश्वकप छनोट खेल्ने राष्ट्रिय टिममा रहेका चार खेलाडी शुक्रबार राति ठमेल र दरबारमार्गको नाईट क्लबमा भेटिएका थिए ।
खेलाडीले अनुशासन उल्लंघन गरेको आरोपमा एन्फाले तत्काल भुटान जाने टिमबाट चार खेलाडी निलम्बन गरेको थियो । साथै खेलाडीको गतिविधि शंकास्पद देखिएको भन्दै थप अनुसन्धान अघि बढाउने निष्कर्शमा एन्फा पुगेको हो ।
राष्ट्रिय टिमका मुख्य फरवार्ड विमल घर्तिमगर सहित, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ शुक्रबार नाईट क्लबमा भेटिएका थिए । कुवेतविरुद्व खेल्न जानु अघि रातको समयमा खेलाडी बाहिर भेटिनुलाई एन्फाले गम्भिर रुपमा लिएको छ ।
सोही कारण उनीहरुलाई भुटान नलैजाने निर्णयमा मुख्य प्रशिक्षक योहान कालिन सहित एन्फा पदाधिकारी पुगेका थिए ।
‘कुवेतसंगको खेल सकिए लगत्तै छानविन प्रक्रिया अघि बढ्छ । पदाधिकारी बैठकले अनुशासन समितिलाई जिम्मेवारी दिन सक्छ ।’ प्रवक्ता राईले भने, ‘बिशेष समिति वा कार्यसमिति आफैले समेत निर्णय लिन सक्छ ।’
नेपालले पर्सी मंगलबार भुटानको थिम्पुमा कुवेतसंग आफ्नो पहिलो होम म्याच खेल्दैछ ।
कुवेतमा भएको पहिलो लेगको खेलमा नेपाल ७–० ले पराजित भएको थियो ।
थप तीन खेलाडीको टुङ्गो लागेन
भुटान उड्ने अघिल्लो रात चार खेलाडी कारबाहीमा परेपछि अन्य खेलाडी छनोट खेल्न पठाउने बिषयमा अन्यौलता देखिएको छ ।
भ्रमणको अघिल्लो दिन चार खेलाडी कारबाहीमा परेपछि एन्फाले भिषाको कारण विकल्पको रुपमा चार खेलाडी तत्काल लैजान सकेन ।
तर सुबास गुरुङ भने भुटान उड्न पाए ।
अन्य तीन खेलाडी पठाउने बिषयमा एन्फा आफै अन्यौलमा परेको छ ।
‘चार खेलाडी पठाउने टुङ्गो लागेको छैन । प्रशिक्षकले समेत केही भनेको छैन ।’ प्रवक्ता राईले भने, ‘उपलब्ध २० खेलाडीबाट प्रशिक्षकले खेलाउने सम्भावना उच्च छ ।’