काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा प्रादेशिक संरचना अनुसार प्रदेश कमिटि गठन प्रक्रियालाई अघि बढाएको छ ।
केन्द्रिय निर्वाचनको झण्डै डेढ बर्षपछि एन्फाले पहिलो प्रादेशिक कमिटि गठन गरेको छ ।
प्रदेश कमिटि गठन हुनेमा गण्डकी पहिलो प्रदेश बनेको छ ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा बुधबार भएको ८ जिल्ला फुटबल संघको बैठकले धरम सिंह लामिछानेको नेतृत्वमा प्रादेशिक कमिटि गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा मिलन गुरुङ, लोकेन्द्र गुरुङ, मुक्ता राना रहेका छन् । महासचिवमा दिपेन्द्र श्रेष्ठ, सचिवमा रमेश कार्की, कोषाध्यक्षमा रामराजा गुरुङ रहेका छन् ।
सल्लाहाकारमा सुक गुरुङ र बसन्त थकाली रहेका छन् ।
सदस्यमा वेद बहादुर गुरुङ, सेतबहादुर पुन, प्रकाश रेग्मी, सुर्य लामिछाने, पुष्प बराल, हरी लामिछाने, दुर्गा घिमिरे, भक्ती गुरुङ, सुमन गुरुङ र मेघराज पाण्डे रहेका छन् ।
यस्तै बैठकले गण्डकी प्रदेश लिगको कमिटि समेत गठन गरेको छ ।
एन्फा उपाध्यक्ष तथा टेक्निकल कमिटिका संयोजक कृष्ण थापा गण्डकी प्रदेशको प्रदेश लिग कमिटिको संयोजक बनेका छन् ।
यस्तै, उप संयोजकमा रत्नकुमार श्रेष्ठ, सचिवमा आनन्द रञ्जित, कोषाध्यक्षमा मिलन गुरुङ र सदस्यमा मदन केसी, सम्भु केसी, नर गुरुङ, जगतबहादुर थापा, राजेन्द्र गिरी, बिनोद गुरुङ र जय राजभण्डारी रहेका छन् ।
प्रदेश कमिटिले प्रदेश स्तरको फुटबल गतिविधि सञ्चालनमा संयोजनको काम गर्नेछ । प्रादेशिक कमिटि गठन नहुँदा एन्फालाई प्रादेशिक स्तरमा फुटबल गतिविधि गर्न समस्या पर्दै आएको थियो ।
प्रदेश कमिटि गठन भएसंगै प्रदेश स्तरीय प्रतियोगिता, प्रशिक्षण लगायतका फुटबल गतिविधि अघि बढाउन सहयोग पुग्ने एन्फाले जनाएको छ ।
विधान अनुसार निकै अगाडी संघीय संरचनामा जाने निर्णय गरेको एन्फाले प्रादेशिक कमिटि गठनको प्रक्रियालाई अघि बढाएको छ ।