काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भिआईपीतर्फको छानो काठमाडौं आईपुगेको छ ।
चीनमा अड्किएर बसेको छानो एयर कार्गोमार्फत बुधबार काठमाडौं आईपुगेको हो ।
छानो निर्माणस्थलबाट गोन्जाओ हुँदै चाईना साउथन एयरलाईन्समार्फत नेपाल आएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
आसन्न दक्षिण एसियाली खेलकुद (साग)का लागि निकै महत्वपुर्ण मानिएको दशरथ रंगशालाको छानो चीनमै अड्किदा प्रतियोगिता आयोजनाबारे अन्यौलता सिर्जना भएको थियो ।
सरकारले सागको उद्घाटन र समापन दशरथ रंगशालामा गर्ने तयारी गरेको छ ।
तर प्रतियोगितामै मुख्य स्थानकै छानो तयार नहुँदा सरकारमाथि दबाब बढेको थियो ।
युवा तथा खेलकुद मन्त्रालयको बिशेष पहलमा रंगशालाको छानो हवाई उडानमार्फत काठमाडौं आईपुगेको हो ।
'छानो काठमाडौं आईपुगेको छ । छानोको ट्रस्ट हाल्ने काम सुरु भएको छ ।' खेलकुद मन्त्री जगत विश्वकर्माले खेलपाटीसंग भने, 'शुक्रबार चीनियाँ प्राविधिकहरु आएपछि छानो हाल्ने कम सुरु हुन्छ ।'
छानो आउनु अघिनै भिआईपीतर्फ छानो हाल्नका लागि १९ वटा पोल खडा भईसकेका छन् । बुधबारबाट ट्रस्ट खडा गर्ने काम सुरु भएको छ । छानो हाल्ने प्राविधिक भने शुक्रबारमात्र नेपाल आईपुग्नेछ । लगत्तै छानो हाल्न काम सुरु हुनेछ । शुक्रबारबाट छानो हाल्ने काम सुरु भएमा ५–६ दिनमा भिआईपीतर्फको काम सकिने मन्त्री विश्वकर्माले दाबी गरे ।
'करिब मंसिर ५ भित्र रंगशालाका सबै काम सकिन्छ । भिआईपीतर्फको प्यारापिटलाई लिएर एक किसिमको आशंका थियो । छानो आएसंगै सबै अन्यौलहरु अन्त्य भएको छ ।' उनले भने ।
रंगशालाको साधारणतर्फको प्यारापिट र सेन्थेटिक ट्रयाक निर्माणको काम धेरै अगाडी सम्पन्न भईसकेको छ । अहिले साधारणतर्फको प्यारापिटमा सिट हाल्ने काम अन्तिम चरणमा पुगेको छ । रंगशाला निर्माणको काम सम्पन्न नहुँदा विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्वको खेल भुटानमा सारिएको छ ।