काठमाडौँ । गण्डकी प्रादेशिक क्रिकेट संघले बार्षिक कार्य योजना निर्माणको काम अघि बढाएको छ ।
सोमबार बसेको गण्डकी प्रादेशिक क्रिकेट संघको कार्यसमिति बैठकले बार्षिक कार्य योजना बनाउने निष्कर्श सहित संघका गतिविधि अघि बढाउन विभिन्न समिति गठन गरेको छ ।
बैठकले प्रदेशको बार्षिक कार्ययोजना बनाउन संघका अध्यक्ष देवेन्द्र प्रजु र सचिव सुमनराज कार्कीलाई जिम्मेवारी दिएको छ ।
केन्द्रिय निर्वाचन सम्पन्न भएपछि पहिलो पटक गण्डकी प्रदेश क्रिकेट संघको बैठक बसेको छ ।
‘क्यान आफैले कार्य सञ्चालन गर्न नसकिरहेको अवस्थामा प्रादेशिक संरचनामा रहेको संघलाई सक्रिय बनाउन बैठक बसेको हो ।’ संघका सचिव सुमनराज कार्कीले खेलपाटीसंग भने ।
उनका अनुसार गण्डकी प्रादेशिक क्रिकेट संघले विभिन्न समिति गठन गरेर नयाँ संरचनाको संघलाई सक्रिय बनाउन खोजेको छ ।
बैठकले सचिवालय गठनदेखि विभिन्न समिति गठन गरेको छ । यस्तै जिल्ला तथा प्रदेशमा स्तरीय क्रिकेट मैदान निर्माणमा जोड दिने भएको छ ।
बैठकले सुमन राज कार्कीको संयोजकत्वमा सचिवालय गठन गर्नुका साथै अध्यक्ष देवेन्द्र प्रजुको संयोजकत्वमा कार्य सम्पादन समिति गठन गरेको छ ।
यस्तै, आर्थिक समितिमा प्रकाश पौडेल, प्राविधिक तथा छनोट समितिमा ऋषिराम गौतम र रिजन प्रजुलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस्तै बैठकले पोखरामा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको क्रिकेट खेललाई सहयोग गर्ने निर्णय गरेको छ ।