काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबलको टेक्निकल डिरेक्टर (प्राविधिक निर्देशक) मा नोरीयो सुकितातेलाई नियुक्त गरेको छ ।
एन्फाले निकै अनुभवी जापानिज प्रशिक्षक नोरीयोलाई महिला फुटबलको प्राविधिक निर्देशक नियुक्त गरेको हो ।
जापान फुटबल एसोसियसन (जेएफए) को सहयोगमा एन्फाले नोरीयोलाई नियुक्त गरेको हो । नोरीयो केहि दिन अघि नै नेपाल आईसकेका छन् ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जेएफएलाई महिलाको मुख्य प्रशिक्षकको माग गरेको तर कोटा खाली नहुँदा जेएफएले टेक्निकल डिरेक्टर नोरीयोलाई पठाएको जानकारी गराए ।
नोरीयोले सुरुवातमा तीन महिनाका लागि महिलाको टेक्निकल डिरेक्टर भएर काम गर्ने छन् । त्यसपछि उनको काम हेरेर एन्फाले नियुक्तिको बाँकि प्रक्रिया अघि बढाउने छन् ।
नेपाल रहदा नोरीयोको सम्पूर्ण खर्च जेएफएले व्यहोर्ने छ ।
अनुभवी प्रशिक्षक नोरीयोले टिमोर लिस्टे, भुटान,लाओस र गुवामको राष्ट्रिय पुरुष टिमको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । यस्तै उनले बंगलादेशको महिला टिमको मुख्य प्रशिक्षक भएर पनि काम गरिसकेका छन् ।
एन्फाले यस अघि पुरुष टिमको प्राविधिक निर्देशकमा ग्यारी फिलिप्सलाई नियुक्त गरीसकेको छ ।