काठमाडौं । विश्वकप छनोट अन्तर्गत नेपालविरुद्धको खेल खाडी राष्ट्रमा गराउन कुवेतले अन्तराष्ट्रिय लबिङ सुरु गरेको छ ।
नेपालको दशरथ रंगशालामा खेल हुन नसकिने रिपोर्ट एसियाली फुटबल महासंघ एएफसीले सार्वजनीक गरेसंगै कुवेतले नेपालविरुद्धको छनोट खेल खाडीमा गराउन लबिङलाई तिव्र बनाएको हो ।
सोही अवसरमा कुवेत फुटबल संघका अध्यक्ष शेख अहमेद अल युसुफ अल सबाहले एएफसीका अध्यक्ष शेख सलमानसंग भेटवार्ता गरेका छन् ।
सलमानसंगको भेटमा कुवेत फुटबल महासंघका अध्यक्ष शेख अहमेदले विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले प्रस्तुत गरेको विकल्पको बिषयमा छलफल गरेका हुन् ।
दशरथ रंगशालामा खेल गराउन नसकिने रिपोर्ट एएफसीले प्रस्तुत गरेसंगै नेपालले विकल्पको रुपमा भुटानमा खेल गर्न अनुरोध गरेको थियो ।
तर कुवेतले नेपालले विकल्पको रुपमा प्रस्तुत गरेको भुटानमा खेल्न समस्या हुने भन्दै खाडी राष्ट्रमा छनोटको खेल सार्न एएफसी समक्ष लबिङ गरिरहेको छ ।
सोही अनुसार एएफसीले समेत भुटानको विकल्प दिन एन्फालाई पत्र काटिसकेको छ ।
सो कुराको पुष्टि गर्दै कुवेत फुटबल महासंघले नेपालले प्रस्तुत गरेको विकल्पको मैदानको अवस्था, फिफाको मापदण्ड, आवास लगायतको बिषयमा एएफसी अध्यक्षसंग शेख अहमेदले छलफल गरेको बताएको छ ।
एन्फा स्रोतका अनुसार कुवेतले भुटानको मैदान फिफाको मापदण्ड अनुसार नभएको र रातको समयमा खेल्न प्रकाश समेत नपुग्ने भन्दै विविध कारण प्रस्तुत गरेर नेपाललाई विकल्प दिन एएफसीमार्फत दबाब दिईरहेको छ ।
कुवेतले पहिलो होम गेममा नेपाललाई ७–० ले हराएको थियो । दशरथ रंगशालाका कारण नेपालमा खेल हुन नसक्ने भएपछि कुवेतले अवे खेल समेत आफ्नै मैदानमा गर्न लबिङ गरिरहेको छ ।
एसिया छनोट अन्तर्गत समूह बीको तेस्रो स्थानमा रहेको कुवेतको ३ खेलबाट मात्र ४ अंक छ । जोर्डन ७ अंक सहित तेस्रो स्थानमा छ । तर कुवेत र जोर्डनको गोल अन्तर बराबर छ ।
अष्ट्रेलिया ९ अंक सहित शीर्ष स्थानमा छ ।
नेपाल ४ खेलबाट ३ अंक जोड्दै चौथो स्थानमा छ । अंक विहिन चाईनिज ताईपे तालिकाको पुछारमा छ ।
विश्वकप छनोटमा गोल अन्तरको समेत महत्वपुर्ण भएकाले तुलनात्मक रुपमा कमजोर नेपाललाई कुवेत पुन घरेलु मैदानमा खेलाउन चाहन्छ ।