काठमाडौं । नेपालमा हुने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा ३२ सय ९ खेलाडी सहभागी हुने भएका छन् ।
मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन हुने प्रतियोगितामा ७ देशले ३२ सय ९ खेलाडी सहभागी हुने जनाएका हुन् ।
नेपाल ओलम्पिक कमिटिमा दर्ता भएको संख्या अनुसार सबै भन्दा धेरै आयोजक नेपालका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक राष्ट्र नेपालबाट ६ सय ४८ खेलाडी सहभागी हुनेछन् ।
त्यस्तै, श्रीलंकाबाट ६ सय २२, बंगलादेशबाट ५ सय ९१, भुटानबाट १ सय ४२, भारतबाट ४ सय ६१, माल्दिभ्सबाट ३ सय ३२, पाकिस्तानबाट ४ सय १३ जना खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।
मार्सल आर्ट नपाएपछि अफगानिस्तान नखेल्ने
अफगानिस्तानले मार्सल आर्टको विधामा सहभागी हुन नपाउने भएपछि १३ औ साग नखेल्ने भएको छ । मध्यपुर्वी एसिया छाड्दै दक्षिण एसियामा फर्कने निर्णय गरेको अफगानिस्तानले १३ औ सागमा सहभागीताका लागि पत्राचार गरेको थियो ।
एसियन ओलम्पिक काउन्सिलले समेत अफगानिस्तानलाई सागमा सहभागी गराउन दक्षिण एसियाली ओलम्पिक काउन्सिललाई आग्रह गरेको थियो । तर आयोजक नेपालले मार्सल आर्ट बाहेक अन्य खेलमा मात्र सहभागी गराउने बताएपछि अफगानिस्तान पछाडी हटेको हो ।