काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत नेपालले तटस्थ मैदानको रुपमा प्रस्ताव गरेको भुटानमा खेल्न कुवेत अनिच्छुक देखिएको छ ।
विश्वकप छनोटको दोस्रो लेगको खेलमा नेपालले घरेलु मैदानमा कुवेतलाई आमन्त्रण गर्ने तयारी गरेको थियो ।
तर एएफसीले रंगशाला खेल्नका लागि अयोग्य ठहर गर्दै एन्फालाई खेल स्थल परिवर्तन गर्न निर्देशन दिएको थियो ।
एएफसीको प्रतियोगिता समितिका प्रतिनिधि देङ सिओ लोङले रंगशालाको निरिक्षणपछि दशरथ रंगशालामा विश्वकप छनोटको खेल खेलाउन नसकिने बताएका थिए ।
रंगशालाको निरिक्षणका लागि एएफसीको टिम अगाडी कुवेतको टिम समेत नेपाल आएको थियो ।
रंगशालाको छानो र चेन्जिङ रुमलाई लिएर निरिक्षणमा आएका टोलीले गम्भिर ध्यानाकर्षण भएको जनाएको थियो ।
एन्फाले तटस्थ भूमीको रुपमा भुटानमा छनोटको खेल गर्न प्रस्ताव गरेको थियो ।
तर कुवेतले विविध कारण देखाएर भुटानमा नखेल्ने भन्दै पत्र पठाएको एन्फा स्रोतले जनाएको छ ।
कुवेतले भुटानमा नखेल्ने बताएपछि एएफसीले समेत अर्को विकल्प दिन एन्फालाई पत्र पठाएको छ ।
कुवेतले भिषा र यात्राको समस्याको कारण दिदै भुटानमा खेल्न नसकिने बताएको हो ।
तर एन्फाले भुटानमा खेल्न नहुने प्रष्ट आधार कुवेत र एएफसीसंग माग्ने तयारी गरेको छ ।
सो बिषयमा एन्फामा शुक्रबार निर्णय गर्ने भएको छ ।
एन्फाले नेपालको मौषमसंग मिल्ने वातावरण भएका कारण भुटानमा खेल खेलाउन प्रस्ताव गरेको हो ।
तर चिसो मौषममा खेल्न गाह्रो हुने भएकाले कुवेतले भुटानको विकल्प चाहेको बुझिएको छ ।
एन्फा दशरथ रंगशालामा खेलाउन नपाएपनि जाडो स्थानमा खेलाएर घरेलु टोली हुनुको फाईदा लिन चाहन्छ ।
पहिलो लेगको खेलमा नेपालले कुवेतसंग ७–० को फराकिलो हार ब्यहोरेको थियो ।
एन्फालाई घाटा
दशरथ रंगशालामा खेल नहुने भएपछि एन्फालाई कम्तिमा एक करोड बराबरको आर्थिक नोक्सानी हुने भएको छ ।
कुवेतविरुद्वको खेलमा एन्फाले टिकटबाट मात्र करिब एक करोड रुपैयाँ उठाउने तयारी गरेको थियो ।
तर घरेलु मैदानमा खेल नहुने भएपछि ठुलो आर्थिक रकम उठाउनबाट एन्फा बञ्चित हुने भएको हो ।