काठमाडौं । पुर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले आसन्न दक्षिण दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुर्वाधार निर्माण समयमा हुनेमा शंका ब्यक्त गरेका छन् ।
काठमाडौं र पोखराका निर्माणाधिन पुर्वाधारको निरिक्षण र अवलोकन गरेका मन्त्री श्रीपाइलीले भौतिक पुर्वाधार निर्माणमा सरकारको तयारी नपुगेको बताए ।
‘सागको तयारीनै पुगेन । प्रतियोगिताको तयारीका लागि जुन तदारुपता साथ काम हुनुपर्ने हो, त्यो गतिमा काम अघि बढ्न सकेको छैन ।’ उनले खेलपाटीसंग भने ।
मन्त्री श्रीपाइलीले प्रतियोगितालाई सफल बनाउन सबै शक्तिको प्रयोग भएको नदेखिएको बताए ।
‘खेलकुद मन्त्रालय, खेलकुद परिषद्, ओलम्पिक कमिटि र खेल क्षेत्रको जसरी मिलेर अघि बढ्नु पर्ने हो, तयारी हेर्दा देखिएन ।’ श्रीपाइलीले भने ।
१३ औ संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगित साग मंसिर १५ गते २४ गतेसम्म आयोजना हुदैछ । प्रतियोगिता आउन अब २४ दिनमात्र बाँकी छ ।
सागको मिति नजिकिदै गर्दा पुर्वाधार निर्माणको काम अगाडी बढिरहेको छ । तर निर्धारित मितिमै पुर्वाधार निर्माणको काम सम्पन्न हुनेमा आशंका छ ।
दशरथ रंगशालाको छानो अहिलेसम्म काठमाडौं आईपुगेको छैन । पोखरा रंगशालमा समेत प्यारापिट सहित मैदानमा दुबो बिछ्याउने काम भईरहेको छ ।
पुर्वाधारको काम समयमै सम्पन्न नहुदाँ साग आयोजनमा अन्यौलता सिर्जना भएको छ ।
पुर्वाधार निर्माणको निरिक्षण गरेका पुर्व मन्त्री श्रीपाईलीले मन्त्रालय र परिषद्ले बिषयगत समितिलाई ठोस जिम्मेवारी नदिएको देखिएको बताए ।
‘समिति बनाएर ठोस जिम्मेवारी दिनुपर्ने हो । माथिल्लो स्तरबाट अनुगमन र निरिक्षणको काम गर्नुपर्ने हो । तर दुवै काम माथिल्लो स्तरबाट गरिदाँ तयारीको काम अघि बढ्न सकेको छैन ।’ उनले भने, ‘अहिलेसम्म पुर्वाधारलाई तयारी अवस्थामा राख्नुपर्ने हो । तर यो अवस्थाले आशंका जन्माएको छ ।’
साग आयोजनाको रौनकता खेलकुद क्षेत्रमा नदेखिएको पुर्वमन्त्री श्रीपाइलीको कथन छ ।
‘करिब तीन हप्ता बाँकी छदाँ टिम तयार हुनुपर्ने हो । भौतिक पुर्वाधारको काम सकिनुपर्ने हो । समिति फिल्डमा खटिनुपर्ने हो ।’ उनले भने, ‘भौतिक पुर्वाधार सम्पन्न नुहदाँ आयोजनामा चिन्ता थपिएको छ ।’