काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि आवश्यक खेल सामाग्री बिना टेण्डर खरिद प्रक्रिया अघि बढाउन मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।
सागको मिति नजिकिदै गर्दा सार्वजनिक खरिद ऐन अनुसार र प्रतिस्पर्धाबाट खेल सामाग्री खरिद गर्न नसक्ने देखिएपछि मन्त्रीपरिषद्ले कार्यविधि परिमार्जन गर्दै सिधै सामान खरिदको अख्तियारी दिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले मुल्याङ्कन घटाएर सामान खरिद गर्ने अधिकार मन्त्रीपरिषद्ले राखेपलाई प्रदान गरेको बताए ।
‘अब टेण्डर बिनै वार्गेनिङ गरेर १५ दिनभित्र सबै सामानहरु खरिद गर्छौं ।’ उनले खेलपाटीसंग भने ।
साग आयोजना तथा व्यवस्थापन कार्यविधिले खेल सामाग्रीहरु सार्वजनिक खरिद ऐन तथा खरिद नियमावली अनुसार गर्नुपर्ने उल्लेख गरेको थियो ।
‘खरिद प्रक्रिया पुरा गर्दा तोकिएको समयमा कार्य सम्पन्न हुन नसकी खेलकुद सञ्चालन गर्ने कार्यमा बाधा उत्पन्न हुने देखिएका खरिद कानुन प्रतिकुल नहुने गरि प्रतिस्पर्धा गराई कानुनमा व्यवस्था भएको खरिद प्रक्रियामा तोकिएको समय घटाई खरिद गर्न सकिनेछ ।’ कार्यविधिमा भनिएको छ ।
तर, कार्यविधि अनुसार खरिद प्रक्रिया अघि बढाउँदा टेण्डरनै नपर्ने देखि अधिकांश रित विपरितका टेण्डर परेको राखेपले जनाएको छ ।
सदस्य सचिव सिलवालले परिषदले आह्वान गरेको ६५ वटा टेण्डरमा ६१ वटा रित नमिलेको टेण्डर परेको बताए ।
कार्यविधि अनुसार टेण्डर प्रक्रियामा जाँदा सागका अधिकांश खरिद प्रक्रियाको काम प्रभावित भएका थिए ।
लामो टेण्डर प्रक्रियाले गर्दा धेरै बिषयगत समिति काम गर्न नसक्ने अवस्थामा पुगेका थिए । सोही कारण साग तयारीका अधिकांश काम प्रभावित बनेको थियो ।
मन्त्रीपरिषदले कार्यविधि संशोधन गर्दै सिधै सामान खरिदको अख्तियारी राखेपलाई दिएसंगै अब बिना टेण्डर सामान खरिद गर्न मिल्नेछ ।
अब राखेपले सोझै कम्पनी वा एजेण्ड तथा बजारबाट आवश्यक सामान खरिद गर्न सक्नेछ ।
‘टेन्डर प्रक्रियामा जादा सामान खरिद गर्न नसक्ने र खेल जसरी पनि गर्नुपर्ने भएकाले वार्गेनिङ गरेर, कम्पनीबाट सिधै, कम्पनीको एजेण्टमार्फत वा सोझै बजारबाट खरिद गर्न सक्ने अधिकार राखेपले पाएको छ ।’ सदस्य सचिव सिलवालले भने ।
१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुदैछ ।