काठमाडौं । तेह्रौ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि अति महत्वपुर्ण मानिएको दशरथ रंगशालाको छानो शनिबारभित्र नेपाल आईपुग्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले रंगशालाको दक्षिणतर्फ रहेको भिभिआईपी प्यारापिटको छानो एयर कार्गोमार्फत शनिबारसम्म काठमाडौं आईपुग्ने बताएको हो ।
'बुधबारसम्म सामान चीनबाट बेङ्कक पुग्नेछ । शुक्रबार वा शनिबारभित्र नेपाल आईपुग्नेछ ।' राखेप सदस्य सचिव रमेश सिलवालले खेलपाटीसंग भने ।
समयको अभावले समुन्द्रमार्गबाट सामान ल्याउन सम्भव नदेखिएपछि अन्तिम विकल्पको रुपमा सरकारले थाईल्याण्डबाट एयर कार्गो गरेर छानो ल्याउन लागेको हो ।
ठेकेदार कम्पनीले चीनबाट थाईल्याण्डसम्म छतको सामान ल्याउनेछन् । लगत्तै बैङककबाट थाई एयरलाईन्समार्फत कार्गो गरेर सामान शनिबारसम्म नेपाल ल्याउने सरकारको तयारी छ ।
अन्य विमानमा सामानको आकार नमिल्ने भएकाले सरकारले थाई एयरमार्फत सामान ल्याउन लागेको हो ।
'छतको सामानको आकार ४ दशमलव १ मिटरको छ । अन्य जहाजमा ३ मिटर भन्दा बढी आकारको सामान राख्न मिल्दैन् । सोही कारण थाई एयरमा कार्गो गरेर सामान ल्याउन लागिएको हो ।' सदस्य सचिवले सिलवालले भने ।
राखेपले शनिबार नेपाल आईपुग्ने रंगशालाको छत तीन दिनभित्र जडान गरिसक्ने जनाएको छ ।
सदस्य सचिव सिलवालले भने, 'सोमबारबाट छत राख्ने पिल्लर उठाउने काम सुरु हुन्छ । हप्ता दिनमा पिल्लर राख्ने काम सकिनेछ । छतको सामान तीन दिनमा जडान गरिसक्ने कार्यतालिका बनाएका छौ ।'
नेपालमा आयोजना हुने १३ औ साग सुरु हुन २७ दिनमात्र बाँकी छ । प्रतियोगिताको उद्घाटन तथा समापन दशरथ रंगशालामा गर्ने सरकारको योजना छ । तर रंगशालाको भिभिआईपी प्यारापिटको छतको सामान चीनमै अड्किएर बसेको छ । सोही कारण रंगशाला निर्माणको कामले सरकारमाथि दबाब थपिएको थियो ।
चीनियाँ सरकारको सहयोगमा साधारणतर्फको प्यारापिटसगै, सेन्थेटिक ट्रयाकको काम सम्पन्न भईसकेको छ । साधारणतर्फको प्यारापिटमा अहिले सिट जडानको काम भईरहेको छ ।
साग अगाडी दशरथ रंगशालामा नेपालले मंसिर ३ गते विश्वकप फुटबल छनोटको कुवेतविरुद्वको होम म्याच समेत खेल्नेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाले मैदान निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको छ ।