काठमाडौं । पुननिर्माण भईरहेको नेपालको एक मात्रै अन्तराष्ट्रिय रंगशाला दशरथ रंगशालाको 'फ्लड लाइट' को सफल परिक्षण गरिएको छ ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र फिफा विश्वकप छनोट अन्तर्गत घरेलु खेललाई लक्षित गरेर द्रुत गतिमा निर्माण भईरहेको रंगशालामा शुक्रबार फ्लड लाइटको परिक्षण गरिएको हो ।
चीन सरकारको सहयोगमा दशरथ रंगशालामा फ्लड लाइट राखिएको थियो । र, करिब करिब ४ वर्षपछि रंगशालामा फ्लड लाइट बलेको हो ।
चार वर्षअघि नेपालमा गएको विनाशकारी भूकम्पपछि दशरथ रंगशालामा कुनैपनि खेल भएको छैन । भूकम्पको कारण फ्लड लाइट पनि जिर्ण भएको थियो ।
तर, १३ औं साग र विश्वकप छनोटका लागि रंगशालाको पुननिर्माण भईरहेको छ । जस अन्तर्गत शुक्रबार फ्लड लाइटको परिक्षण गरिएको हो ।
रंगशालामा चार वटा फ्लड लाइट रहेको छ । शुक्रबार भने तीन वटा बलेको थियो ।
विश्वकप छनोट अन्तर्गत नेपालले कुवेतसँग मंसिर ३ गते दशरथ रंगशालामा पहिलो घरेलु खेल खेल्दैछ ।
कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपका लागि एसियाको दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेको नेपाल छनोटको समूह 'बी' मा रहेको छ ।
यसअघि बिहिबारबाट रंगशालाको सामान्य प्यारापिटमा दर्शकका लागि सिट राख्ने काम सुरु भएको थियो । रंगशालाको सामान्य प्यारापिटमा निलो, पहेलो, रातो र हरियो गरि चार रंगको सिट राखिने छ ।