काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) लाई आफ्नो राजीनामा पत्र बुझाएका छन् ।
कप्तान छाडेको घोषणा गरेको दुई सातापछि पारसले आइतबार क्यानलाई औपचारिक रुपमा राजीनामाको पत्र बुझाएका हुन् ।
पारसले इमेलबाट राजीनामा बुझाएको क्यानका सचिब अशोक नाथ प्याकुरेलले खेलपाटीलाई जानकारी गराए ।
'पारसले हामीलाई आइतबार इमेलबाट राजीनामाको पत्र पठाएका छन् । पारसको राजीनामा औपचारिक रुपमा हामीलाई प्राप्त भएको छ,' सचिब प्याकुरेलले भने।
पारसले गत असोज २८ गते सामाजिक संजालबाट कप्तानी छाडेको घोषणा गरेका थिए । तर, उनले संघलाई भने आधिकारिक रुपमा भने राजीनामाबारे जानकारी गराएका थिएनन् ।
राजीनामाबारे संघलाई जानकारी नगराएपछि क्यानले कप्तानबाट राजीनामा दिएको बिषयमा प्रस्ट पार्न पारसलाई गत बिहिबार पत्र पठाएको थियो ।
पारसले आफु पुनः कप्तानीमा नफर्कने आशयको राजीनामा पठाएपछि क्यानले केहि दिनमा नयाँ कप्तान चयन गर्नेछ ।
'पारसले पटक पटक मिडियामा कप्तानीमा नफर्कने बताईसकेका छन् । राजीनामा समेत त्यही आशय छ,' प्याकुरेलले भने, 'पारसले छाडेपछि कोहि न कोहि कप्तान हुनै पर्छ । केहि दिनपछि क्यानको बैठकमा यस बिषयमा छलफल हुनेछ र नयाँ कप्तानको चयन गरिनेछ ।'
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको सिरिजमा नेपाली टिम नयाँ कप्तानीमा मैदान उत्रने सचिब प्याकुरेलको भनाई छ ।
इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब एमसीसी नेपाल भ्रमणका लागि यस्तै साता नेपाल आउदै छन् । एमसीसीको टिमले नेपालको राष्ट्रिय टिम र यू-१९ टिमसँग विभिन्न सिरिज खेल्ने कार्यक्रम रहेको छ ।