काठमाडौं । नेपाली क्रिकेट सपोर्टर्स सोसाइटी (एनसीएसएस) चितवनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्रीलाई सम्मान गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवामा मुख्य भूमिका खेलेको भन्दै एनसीएसएस चितवनले शनिबार क्षेत्रीलाई सम्मान गरेको हो ।
क्षेत्री क्यान निलम्बन फुकुवाको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिका सदस्य रहेका थिए ।
स्वतन्त्र कमिटिले गत असोज १० र ११ गते विशेष साधारण सभाबाट क्यानको नयाँ नेतृत्वको लागि निर्वाचन गरेको थियो । उक्त साधारण सभाले चतुरबहादुर चन्दको नेतृत्वमा क्यानको नयाँ नेतृत्व चयन गरेको थियो ।
क्यानमा नयाँ नेतृत्व आएपछि असोज २७ गते आईसीसीले निलम्बन फुकुवा गरेको थियो ।
एनसीएसएस चितवनको सम्मान कार्यक्रममा बोल्दै क्षेत्रीले सम्मानित हुँदा गर्व लागेको बताए । यस्तै उनले क्यानमा आउने बेथितिलाई घच्घच्याउने काम गरिरहन समेत आग्रह गरे ।
यस्तै सम्मानपछि क्षेत्रीले चितवनमा बन्दै गरेको गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण समेत गरेका थिए ।