काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीले तिहार बिदा नपाउने भएका छन् ।
राष्ट्रिय टिम तयारी समितिले बिदा दिदाँ सागको प्रर्दशन र नतिजामा असर पर्ने भएकाले खेलाडीलाई बिदा नदिने निर्णय गरेको हो ।
‘दशैमा बिदा दिदाँ खेलाडीको प्रर्दशन खस्किएको देखियो । सोही कारण तयारीमा प्रभाव पार्ने देखिएकाले खेलाडीलाई बिदा नदिने निर्णय गरेका हौ ।’ राष्ट्रिय टिम तयारी समितिका सचिव महेन्द्रबहादुर राईले खेलपाटीसंग भने ।
राखेपले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई दशैमा ५ दिन बिदा दिएको थियो ।
‘तिहारमा कम्तिमा तीन दिन बिदा दिनुपर्ने हुन्छ । खेलको नतिजामा प्रभाव पार्ने भएकाले तिहारमा बिदा छैन ।’ राईले भने ।
राखेपले सागमा सहभागी हुने १४ खेलको खेलाडीको अन्तिम छनोट सम्पन्न गरेको छ ।
सचिव राईका अनुसार आर्चरी, बक्सिङ, फेन्सिङ, जुडो, कराँते, स्क्वास, तेक्वान्दो, टेनिस, उसु, टेबल टेनिस, ब्याडमिन्टन, भारत्तोलन, ह्यान्डबल र पुरुष विच भलिबल र पुरुष भलिबल टिमको अन्तिम छनोट सम्पन्न भएको छ ।
बाँकी खेलको खेलाडीको छनोट कात्तिक मसान्तसम्म सक्ने राखेपको तयारी छ ।
सागको लागि राखेपले २७ खेलका ११ सय ९७ खेलाडीलाई प्रारम्भिक चरणमा समावेश गरेको थियो ।
सागमा २७ खेलका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुदैछ ।
नेपालले आयोजना गर्ने तेह्रो संस्करणको साग मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुदैछ ।