काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टिमका मुख्य प्रशिक्षक बिष्णु गुरुङलाई एसियाली फुटबल महासंघ (एएफसी) ले कारबाही गरेको छ ।
इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा अनुशासन विपरित कार्य गरेको भन्दै एएफसीले गुरुङलाई कारबाही गरेको हो ।
ताजिकिस्तानसँगको खेलमा विपक्षि खेलाडीलाई टच लाइनमा तानेर लडाएपछि एएफसीले गुरुङलाई एक खेलको प्रतिबन्ध र जरिवाना गरेको हो ।
गुरुङले विपक्षि खेलाडीलाई दुर्व्यवहार गरेपछि रेफ्रीले उनलाई मैदान बाहिर पठाएका थिए । प्रतिबन्ध स्वरूप उनले उज्वेकिस्तानसँगको खेल गुमाएका थिए । यस्तै उनलाई १ हजार डलर जरिवाना समेत गरिएको छ ।
नेपालले उक्त खेलमा ६-० को हार व्यहोरेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत फुटसल समितिका संयोजक दावा लामाले भने कारबाहीबारे एन्फालाई एएफसीले अधिकारिक पत्र नपठाएको बताए ।
जारी छानोटमा दुई खेलमा पराजित नेपाल बाहिरिसकेको छ । नेपालले अन्तिम खेलमा आज अफगानिस्तानसँग खेल्नेछ ।
गुरुङ लेभल एक लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।