काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले कप्तानबाट राजीनामा दिएको बिषयमा प्रस्ट पार्न पारस खड्कालाई पत्र पठाएको छ ।
सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट राजीनामाको बिषय सुनिएपनि आधिकारिक जानकारी नआएको भन्दै क्यानले कप्तानबाट राजीनामा दिएका पारसलाई प्रष्टिकरणका लागि पत्र पठाएको हो ।
सचिव अशोकनाथ प्याकुरेलका अनुसार आधिकारिक पत्र प्राप्त नभएको अवस्थामा राजीनामाको बिषय तथ्य बुझ्न पत्राचार गरिएको खेलपाटीलाई बताए ।
‘बोर्ड बैठकले राजीनामाको बिषयमा प्रस्ट हुने र तथ्य बुझ्ने निर्णय गरेको थियो । सोही अनुसार उहाँलाई हिजो (बिहिबार) पत्र पठाईएको हो । उहाँले सम्भवत शुक्रबार प्राप्त गर्नु हुन्छ होला ।’ उनले भने ।
नयाँ निर्वाचन लगत्तै अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो ।
क्यानको शसर्त निलम्बन फुकुवा लगत्तै कप्तान खड्काले पदबाट राजीनामा दिएको सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए ।
तर उनले क्यानको आधिकारिक निकायमा राजीनामा पत्र बुझाएका छैनन् ।
सोही कारण क्यानले कप्तानबाट राजीनामा दिएका पारसलाई पत्र लेख्दै आधिकारिक धारणा माग गरेको हो ।