काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।
गलत तरिकाले क्लबहरुलाई लाईसेन्स वितरण गरेको भन्दै एएफसीले एन्फामाथि आर्थिक जरिवाना तिराउने निर्णय गरेको हो ।
मलेसियाको क्वालालाम्पुरस्थि एएफसीको केन्द्रिय कार्यालयमा बसेको अनुशासन तथा आचार समितिको बैठकले एन्फालाई १० हजारको आर्थिक जरिवाना गर्ने निर्णय गरेको एएफसीले जनाएको छ ।
एएफसीका अनुसार क्लब लाईसेन्सिङ नियमावली अनुसार एन्फाले गलत तरिकाले क्लबलाई लाईसेन्स दिएको भेटिएको हो ।
फिफाले एएफसीले सन् २०१९ भित्र आफ्ना सदस्य राष्ट्रलाई क्लब लाईसेन्सिङ प्रणाली लागु गर्न भनेको थियो ।
सोही अनुसार एन्फाले ए डिभिजन लिग खेल्ने ९ क्लबलाई लाईसेन्सका लागि प्रस्ताव गरेको थियो ।
सोही अनुसार एएफसीले नेपालका ९ क्लबलाई क्लब लाईसेन्स प्रदान गरेको थियो ।
एएफसीले क्लब लाईसेन्स पाएका टिमलाई मात्र एएफसीको आधिकारिक प्रतियोगितामा सहभागीता गराउदै आएको छ ।
सोही अनुसार २०७५ को लिग च्याम्पियनको हैसियतमा मनाङ मस्र्याङ्दी क्लबले एएफसी कप खेलेको थियो ।
होम एण्ड अवेका आधारमा खेलिएको एएफसी कपमा मनाङ जित विहिन हुदै प्रतियोगिताको अन्त्य गरेको थियो ।
तर स्रोतका अनुसार एएफसीले मनाङ सहित तीन क्लबको अडिट रिपोर्ट माग गरेको थियो ।
सो जाँचको क्रममा तीन क्लबलाई न्युनतम शर्त समेत पुरा नगरि क्लब लाईसेन्स सिफारिस गरेको भेटिएपछि एएफसीले एन्फालाई कारबाही गर्ने निष्कर्शमा पुगेको हो ।
क्लब लाईसेन्सका लागि आवश्यक शर्त समेत पुरा नगरेका क्लबलाई लाईसेन्स वितरण गरेपछि एएफसीले एन्फालाई १० हजार आर्थिक जरिवाना गरेको हो ।
एएफसीले सोही गल्ती पुन दोहरिए दुई बर्षको प्रतिबन्ध सहित ३५ हजार डलर भन्दा बढी जरिवाना गर्ने चेतावनी एन्फालाई दिएको छ ।
एन्फाले क्लब लाईसेन्सका लागि नेपालबाट मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, च्यासल युथ क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, मछिन्द्र क्लबको नाम सिफारिस गरेको थियो ।