काठमाडौं । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने पूर्व फुटबल खेलाडी वाइवी घलेलाई आर्थिक सहयोग गरिएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्यवमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके शाखाले घलेलाई आर्थिक सहयोग गरेको हो ।
प्यारालाइसिस भएपछि पछिल्लो ११ वर्षयता अस्वस्थ रहेका घलेलाई शुक्रबार युके शाखाले २ लाख नगद सहयोग गरेको हो । युके शाखाका सिदार्थ बिक्रम क्षेत्रीले घलेलाई नगद प्रदान गरे ।
चार महिना अघि गल ब्लाडर र स्टोनको शल्यक्रियापछि थप अस्वस्थ बनेका घलेको उपचार्थआर्थिक सहयोग गरिएको हो ।
सन् १९८२ देखि १९९० सम्म राष्ट्रिय टिममा रहेका ६१ वर्षीय घले एन्फाका केन्द्रीय सदस्य र एन्फा टेक्निकल डिरेक्टर रहिसकेका छन् ।
सन् १९८२ मा दिल्लीमा भएको एसियाली खेलकुदमा कुवेतविरुद्ध घलेले गरेको गोल नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
सन् १९८५ मा नेपालमा भएको पहिलो दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण जित्दा घले मुख्य खेलाडी रहेका थिए ।
घलेले शाही वायुसेवा निगम, महेन्द्र पुलिस क्लब, आरसीटी र फ्रेन्ड्स क्लबबाट फुटबल खेलेका थिए ।