काठमाडौ । नेपाली फुटबललाई अमेरिकी फुटबल महासंघले सहयोग गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र अमेरिकी फुटबलका प्रमुख कार्यालय अधिकृत ब्रेन रेमिडीबीच नेपाली फुटबलमा अमेरिकी सहयोग सम्बन्धि मुख्य चार बुँदे सहमती बनेको छ ।
एन्फा अध्यक्ष शेर्पा अहिले अमेरिका भ्रमणमा रहेका छन् ।
उनले यसअघि अमेरिकी फुटबल महासंघका अध्यक्ष कार्लोस कोर्डीरोसंग भेट गरेर नेपाली फुटबलमा सहयोग गर्न आग्रह गरेका थिए ।
सोही आग्रह अनुसार एन्फा अध्यक्ष शेर्पाले अमेरिकी फुटबल महासंघका प्रमुख कार्यालय अधिकृत रेमिडीसंग भेट गरेर नेपाल फुटबल विकासमा अमेरिकाले गर्न सक्ने सहयोगको औपचारिक निर्णय गरेका हुन् ।
सहमती अनुसार अमेरिकाले नेपालको महिला फुटबलको विकासमा सहयोग गर्ने निर्णय भएको छ । त्यस्तै, युवा तथा उत्कृष्ट सिनियर खेलाडी स्काउट सम्बन्धि कार्यशाला ल्याउने समझदारी दुवै पक्षबीच बनेको छ ।
अमेरिकामा रहेका नेपाली प्रशिक्षकलाई प्रशिक्षण कोर्स उपलब्ध गराउन अमेरिकी फुटबल महासंघ सकारात्मक छ । सन् २०२६ को विश्वकपको प्रचार नेपालको सर्वोच्च शिखर सगरमाथाबाट सुरु गर्न अमेरिका निकै ईच्छुक देखिएको छ ।
सन् २०२६ को विश्वकपको प्रचार अभियानको थालनी सगरमाथाबाट सुरु गर्न अमेरिकी फुटबल महासंघलाई एन्फाले आग्रह गर्दै आएको छ ।