काठमाडौं । सरकारले आसन्न तेह्रौ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी सम्बन्धित संघहरुलाई दिने तयारी गरेको छ ।
प्रतियोगितालाई व्यवस्थित बनाउन सरकारले सम्बन्धित संघलाईनै खेलको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी दिने तयारी गरेको हो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले सागमा समावेश सबै खेललाई जिम्मेवारी दिएर अगाडि बढ्ने बताए ।
सागमा समावेश विभिन्न २७ खेल संघका प्रतिनिधि, प्रमुख प्रशिक्षक तथा विषयगत समितिका प्रतिनिधिसंग छलफल गर्दै उनले खेल व्यवस्थापन र सञ्चालन सम्बन्धित संघलेनै गर्ने बताएको राखेपले जनाएको छ ।
‘साग राष्ट्रले आयोजना गर्ने हो । तर, सागमा समावेश खेलको व्यवस्थापन र सञ्चालन सम्बन्धित खेल संघले नै गर्ने हो । सबै संघलाई जिम्मेवारी दिएर खेल विकासमा अगाडि बढ्ने छौं ।’ खेलकुद मन्त्री विश्वकर्माले भने ।
उनले खर्च गर्दा पारदर्शीतीमा जोड दिनु पर्ने बताए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हालै कतारमा सम्पन्न एनोक बैठकका दौरान सागको समय सार्ने विषयमा कुनै छलफल नभएको प्रष्ट पार्दै राष्ट्रको गौरवसंग जोडिएको विषय भएकाले निर्धारित समयमै साग हुनुपर्नेमा जोड दिए ।
खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कुनैपनि काम गर्दा पद्धति र प्रकृयालाई ध्यानमा राखि अगाडि बढ्नु पर्ने सुझाए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले साग समयमै हुने भएकाले यसलाई अवस्मरणीय बनाउन सम्बन्धित सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने धारणा राखेका थिए ।