काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) नेपाली क्रिकेटको भावी कार्ययोजना बनाउने गृहकार्यमा जुटेको छ ।
मुलपानीस्थित क्यानको केन्द्रिय कार्यालयमा आज (आईतबार) बसेको कार्य समिति बैठकले संघका गतिविधि र भावि कार्ययोजना बनाउन चार समिति गठन गरेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्यानमाथिको निलम्बन शसर्त फुकुवा गरेपछि संघले पहिलो पटक कार्यसमिति बैठक बोलाएको थियो ।
बैठकले क्रिकेटका विविध प्राविधिक बिषय हेर्न प्राविधिक समिति, योजना बनाउन प्रतियोगिता समिति, आर्थिक नियमावली लगायत विभिन्न आर्थिक क्रियाकलाप हेर्न आर्थिक समिति र सञ्चारसंग सम्पर्क स्थापित गर्न मिडिया समिति गठन गर्ने निर्णय गरेको छ ।
प्राविधिक समितिमा सञ्जयराज सिंह, प्रतियोगितामा प्रशान्त मल्ल, सञ्चारमा अशोकनाथ प्याकुरेल र आर्थिक समितिमा कोषाध्यक्ष समेत रहेका रोशनबहादुर सिंह संयोजक तोकिएका छन् ।
प्रत्येक समितिका संयोजकले आवश्यकता आधारमा चार सदस्य थप गर्न सक्ने सचिव अशोकनाथ प्याकुरेलले जानकार दिए ।
यस्तै, प्रतियोगिता समितिले देशका विभिन्न क्षेत्रमा सञ्चालित फ्रेन्चाईज लिगसंग समन्व्य गरेर संघको बार्षिक क्यालेन्डर बनाउनेछ ।
सचिव प्याकुरेलका अनुसार चार वटै समितिले सयुक्त रुपमा संघले सञ्चालन गर्ने प्रतियोगिताको संयुक्त खाका बनाउनेछन् । सोही योजनाका आधारमा क्यानले आईसीसीसंग छलफल गर्नेछ ।
बैठकले क्यान निलम्बन फुकुवामा सहयोग गर्ने स्वतन्त्र कमिटि सहित सम्पुर्णमा धन्यवाद ज्ञापन गरेको छ । यस्तै जिल्ला र प्रदेश कमिटिका कार्यालय संञ्चालनमा ल्याउने निर्णय समेत गरेको छ ।
कार्यसमिति बैठकले क्यानको बैंक खाता खोल्न राखेपसंग समन्व्य गरेर आईसीसीमा पत्राचार गर्ने निर्णय गरेको छ । नेपालमा हुन गईरहेको एमसीसीको भ्रमणको बिषयमा समेत छलफल भएको सचिव प्याकुरेलले बताए ।
बैठकले कप्तान पारस खड्काको राजीनामाको बिषयमा कुनै निर्णय गरेन । पारसको बिषयमा छलफल भएपनि कुनै निर्णय नभएको सचिव प्याकुरेलले बताए ।
‘आधिकारिक रुपमा पत्र आएको छैन । सोही कारण कुनै औपचारिक निर्णय हुन सकेन ।’ उनले भने ।
आईसीसीबाट क्यान निलम्बन फुकुवा गर्ने निर्णय गरेको भोलीपल्टै कप्तानबाट पारसले राजीनामा दिएका थिए ।
तर क्यानले पारसले सञ्चार माध्यमबाट राजीनामा घोषणा गरेपनि औपचारिक पत्र प्राप्त नभएको बताएको छ ।
सोही कारण कप्तानको निर्णयको बिषयमा कुनै औपचारिक निर्णय नभएको सचिव प्याकुरेलको भनाई छ ।