काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय कार्यसमितिको बैठक आज (आईतबार) बस्दैछ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले क्यान निलम्बन फुकुवा गरेपछि संघको कार्य समिति बैठक पहिलो पटक बस्न लागेको हो ।
बैठकले शसर्त क्यानको निलम्बन फुकुवासंगै कसरी अघि बढ्ने भन्ने बिषयमा निर्णय गर्नेछ ।
असोज २७ गते आईसीसीको बोर्ड बैठकले शसर्त क्यान निलम्बन फुकुवाको निर्णय गरेको थियो ।
तर क्यानले आईसीसी निर्णयको पुरा विवरण प्राप्त गर्न सकेको छैन ।
'निलम्बन फुकुवाको बिषयमा आईसीसीले राखेको शर्तको बिषय प्रष्ट हुन बाँकी छ । पत्र प्राप्त भएको छैन ।' निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलपाटीसंग भने, 'पत्र केही दिनमा आउछ । तर काम गर्ने वातावरण खुल्ला गरिसकेको अवस्थामा कसरी अगाडी बढ्ने भन्ने बिषयमा निर्णयहरु गर्नुपर्नेछ ।'
क्यानको कार्यसमिति बैठक मुलपानीस्थित केन्द्रिय कार्यालयमा दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकले संघका गतिविधि अघि बढाउन विभिन्न समितिहरु गठन गर्ने तयारी गरेको छ ।
यस्तै बैठकमा कप्तानबाट राजीनामा दिएका पारस खड्काको बिषयमा समेत छलफल हुने बताईएको छ ।
'कप्तानले राजीनामा दिएको बिषय औपचारिक रुपमा जानकारीमा आएको छैन । तर अनौपचारिक एजेण्डाको रुपमा छलफल हुन्छ ।' अध्यक्ष चन्दले भने ।