काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा रमेश कुमार सिलवाल नियुक्त भएको एक सय दिन पुरा भएको छ ।
गत असारमा राखेपको सदस्य सचिव नियुक्त भएका सिलवालको कार्यकाल मंगलबारबाट सय दिन पुरा भएको हो ।
युवा तथा खेलकुद मन्त्रालयले सिलवाललाई गत असार २३ गते सदस्य सचिवमा नियुक्त गरेको थियो । निवर्तमान सदस्य सचिव केशब कुमार विष्टको कार्यकाल सकिएपछि मन्त्रालयले सिलवाललाई नियुक्त गरेको थियो ।
सदस्य सचिव नियुक्त भएपछिको सय दिन कार्यकालमा सिलवालले उत्साहजक काम भने गर्न सकेका छैनन् । सिलवालको सय दिने कार्यकाल शुभकामना आदानप्रदान, उद्घाटन, पुरस्कार वितरण र विदाई कार्यक्रममै व्यस्त बनेका छन् ।
नेपालमा तय भएको १३ औं दक्षिण एसियाली खेलकुद सागको मिति नजिकिदै गर्दा केहि सकारात्मक कार्य भने गरेका छन् । सदस्य सचिव बनेपछि नेपाली टिमको तयारीलाई तीव्रता दिएका छन् ।
यस्तै भौतिक पूर्वाधार निमार्ण र पुननिर्माणलाई तीव्रता दिएका छन् । तर, उनलाई उद्घाटन हुने दशरथ रंगशाला र पोखरा रंगशालाको पुननिर्माण सक्न चुनौती रहेको छ । किनकी साग सुरु हुन अब ४५ दिन मात्र बाँकी रहेको छ ।