काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको प्रचार प्रचार सगरमाथाबाट सुरु गर्न अमेरिकी फुटबल संघलाई आग्रह गरेको छ ।
अमेरिकाको भ्रमणमा रहेका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अमेरिकी फुटबल संघका अध्यक्षसंग भेट गरि विश्वको सर्वोच्च शिखर सगरमाथाबाट विश्वकप फुटबलको प्रचार अभियानको थालनी गर्न आग्रह गरेका हुन् ।
एन्फा अध्यक्ष शेर्पाले शुक्रबार अमेरिकी फुटबल संघका अध्यक्ष कार्लोस कोर्डीरोसंग भेटवार्ता गरेका थिए ।
वासिङ्टन डीसीमा भएको भेटमा अध्यक्ष कर्माले सो आग्रह पुन दोहर्याएका हुन् ।
सन् २०२६ को विश्वकप अमेरिका सहित क्यानडा र मेक्सिको मिलेर संयुक्त रुपमा आयोजना गर्दैछन् ।
अमेरिका सहित तीन देशलाई विश्वकप आयोजनाको अधिकार दिने बिषयमा भोट गर्ने समय नेपालले प्रचार अभियान सगरमाथाबाट थालनी गर्नुपर्ने शर्त राखेको थियो ।
अमेरिका भ्रमणमा रहेको समय अध्यक्ष शेर्पाले सोही शर्तलाई पुन दोहर्याएका हुन् ।
‘हामीले पहिल्यैबाट विश्वकपको प्रचार सगरमाथाको वेस क्याम्पबाट सुरु गर्न शर्त राखेको थियौ । पुन सोही कुरा दोहर्याएका छौ ।’ उनले खेलपाटीसंग भने, ‘लिखित रुपमा प्रस्ताव गरेर अघि बढ्ने तयारी गरेका छौ ।’
सो अवसरमा विश्वकपको तयारी र आयोजनाको सम्भावित स्थालका बिषयमा अमेरिकी फुटबल महाका अध्यक्षसंग छलफल भएको शेर्पाले बताएका छन् ।
एन्फा अध्यक्ष शेर्पा अहिले पारिवारिक भ्रमणका लागि अमेरिकामा छन् ।