काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनलाई स्वागत गरेको छ । आईसीसीले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै क्यान निर्वाचनको स्वागत गरेको हो ।
आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा शनिबार नयाँ नेतृत्वका लागि क्यानको निर्वाचन भएको थियो । जसमा चतुर बहादुर चन्दको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएका थिए ।
क्यानको नयाँ नेतृत्व आएको तीन दिनपछि आईसीसीले स्वागत गरेको हो । आईसीसीका कार्यवाहक अध्यक्ष इमरान ख्वाजाले निर्वाचनबाट आईसीसी खुसी रहेको बताए ।
'काठमाडौंमा भएको महत्वपूर्ण घटनाक्रमबाट हामी खुसी छौं । जुन आईसीसीको नेतृत्वमा गत तीन वर्षबाट सुधार प्रक्रिया जारी रहेको थियो । र, यो नतिजा नेपालमा क्रिकेटको भातृत्वको परिणाम हो,' ख्वाजाले भनेका छन् ।
नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान तयार गरेको थियो । सोही विधानमा टेकेर आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन गरेको हो ।
क्यानमा नयाँ नेतृत्व आएसँगै क्यान निलम्बन फुकुवाको ढोका खुलेको छ ।
यस्तै ख्वाजाले नेपालको फुकुवाबारे आईसीसीको बोर्ड बैठकमा छलफल गर्ने बताए ।
'नयाँ निर्वाचित कार्यसमितिबाट म आशावादी छु कि नेपाली क्रिकेटले मैदानमा जस्तै मैदानबाहिर पनि प्रगति गर्नेछ,’ ख्वाजाले भनेका छन्, ‘नेपालको सदस्यता पुनर्स्थापनाको लागि प्रमुख सर्त पूरा भएको छ र अर्को महिना दुबईमा बस्ने आईसीसी बोर्ड बैठकले विचार गर्नेछ ।’
सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो । आईसीसीले निलम्बन गरेको झण्डै साढे ३ वर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो ।