काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने विभिन्न उमेर समुहका खेलाडीलाई पुरस्कार रकमको घोषणा गरेको छ ।
बडादशैको मुखैमा एन्फाले अन्तराष्ट्रिय प्रतियोगितामा सफल प्रर्दशन गर्ने खेलाडीलाई हातहातै पुरस्कार बाँडेको हो ।
एन्फाका अनुसार घोषित पुरस्कार यसअघिको जस्तो ढिलो हुने छैन । तत्काल खेलाडीको बैंक खातामा जम्मा हुनेछ ।
एन्फाले विश्वकप छनोट अन्तर्गत चार्ईचिज ताईपेविरुद्व खेल्ने सिनियर फुटबल टिमका सदस्यलाई जनही २५ हजार रुपैयाँ दिने भएको छ ।
पुरस्कार रकम भोलीनै खेलाडीको खातामा हालिदिने एन्फाले जनाएको छ । विश्वकप छनोटमा आफु भन्दा माथिल्लो वरियताको ताईपे टोलीलाई उसकै मैदानमा नेपालले २–० ले हराएको थियो ।
यस्तै कोलकत्तामा भएको साफ यू–१५ मा उपविजेता बनेको टिमका सदस्यलाई जनही २५ हजार रुपैयाँ दिने एन्फाले जनाएको छ ।
यस्तै साफ यू–१८ मा समुह चरणबाट बाहिरिएका खेलाडीलाई समेत जनही १० हजार दिने भएको छ । दैनिक भत्ता बिनै प्रतियोगिता खेलाएको एन्फाले भुटानसंग हार्दै प्रतियोगिताबाट बाहिरिने टोलीलाई जनही १० हजार दिने घोषणा गरेको हो ।
यस्तै एन्फाले कीर्गिस्तानमा भएको नादेझ्दा कप फुटबल प्रतियोगितामा उपविजेता बनेको महिला टिमका सदस्यलाई जनही ५० हजार रुपैयाँ दिने भएको छ । संघले पुरस्कार रकम खेलाडीको खातामा तत्काल हाल्दिने बताएको छ ।
पछिल्लो समय खेलाडीलाई पुरस्कार दिन आनाकानी गर्ने र दिएको पुरस्कार समेत समयमा उपलब्ध नगराउने एन्फाले दशैको मुखमा सबै खेलाडीलाई पुरस्कार बाँडेर खुसी पारेको छ ।