धनगढी । कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहको सोमबार विदाई गरिएको छ ।
अध्यक्ष सिंहसहित कार्यकाल सकिएका कोषाध्यक्ष कमला चन्द, सदस्य विन्दु चौधरी, महेश वुढाको एक कार्यक्रम गरी विदाई गरिएको छ।
सिंह समितिको अध्यक्षमा २०७२ असोज १४ गते नियुक्त भएका थिए । उनको कार्यकाल सोमबारदेखि सकिएपछि जिल्लाका कर्मचारी र प्रशिक्षक लगायतको सहभागीतामा विदाई गरिएको हो ।
सिंहको कार्यकालमा देशभरीमै कैलाली जिल्ला खेलकुदमा तेस्रो भएको थियो ।
उनको कार्यकालमा ४२ वटा विद्यालयमा खेल मैदान, वास्केटबल कोर्ट, वहुउद्देश्यीय कभर्डहल, सवै निर्वाचन क्षेत्रमा एक एक खेल मैदान, टीकापुरमा सुटिंग रेञ्ज र स्पोर्टस एकेडेमीका लागि फुटबल मैदान, फुलवारी र खेलकुद विकास समितीमा क्रिकेट पिच निर्माण भएको थियो ।
खेलकुद विकास समितीमा छुट्टै महिला पुरुष सौचालय निर्माण, पहिलो पटक खेलाडी सम्मान कार्यक्रमको सुरुवात, खेलाडीलाई पोषण सम्बन्धी तालिम लगायतका कार्यक्रम पनि गरिएको थियो ।
कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष सिंहको चार बर्षे कार्यकालको वारेमा विदाई कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख टोपवहादुर विष्ट र उसुका सहायक प्रशिक्षक रतन खातीले खुलेर प्रशंसा गरेका थिए ।
विदाई कार्यक्रममा वोल्दै अध्यक्ष सिंहले नेतृत्वमा आउने क्रममा गरेका सबै वाचाहरु पुरा गरेको दावी गरे । उनले केही काम गर्न अझै बाँकी रहेकोले ती कामहरुलाई पनि आगामी दिनमा वाहिर वसेर पनि पुरा गर्नका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।